१५ असार २०८३, सोमबार

बागलुङमा विपद् व्यवस्थापनको यस्तो छ पूर्वतयारी

बागलुङमा विपद् व्यवस्थापनको यस्तो छ पूर्वतयारी

वैशाख यता मात्रै बागलुङमा चट्याङबाट पाँच जनाले ज्यान गुमाइसकेका छन् । जिल्लामा चट्याङबाट बर्सेनि जनधनको क्षति भइरहेको छ । चट्याङबाट बच्न नागरिक सेचत हुन आवश्यक छ ।  

जिल्लामा मनसुन जन्य प्राकृतिक प्रकोप बढ्दो अवस्थामा रहँदा विपद् व्यवस्थापन कार्यको तयारी थालिएको छ । भनिन्छ–‘विपति बाजा बजाएर आउँदैन ।’ त्यसैले हरेक वर्षायामसँगै अपुरणीय जनधनको क्षति हुन्छ । यस्तो क्षतिमा स्थानीय सरकार, सरोकारवाला र स्वयं आमनागरिकले पूर्ववत् सचेतता, योजना र तयारीमा यथेष्ट ध्यान दिनसके विपत्ति रोक्न सकिने ठाउँमा नियन्त्रणसमेत गर्न सकिन्छ भने विपत्ति रोक्न नसकिने अवस्थामा क्षति न्यूनीकरण गर्न सकिन्छ । 

त्यसैले मनसुनको समयमा जिल्ला विपद् व्यवस्थापन समितिले विपद् व्यवस्थापनको पूर्वतयारी गर्ने गरेको पाइन्छ । जिल्लाभरमा जोखिमयुक्त क्षेत्रको पहिचान, त्यसको संवेदनशीलताको आधारमा वर्गीकरण, जोखिम प्रभावित क्षेत्रका नागरिकलाई स्थान्तरण या सचेतता, सहयोग, विपद् या भवितव्यमा उद्धारका लागि जनशक्ति, यन्त्र उपकरण र स्रोत साधनको यथोचित व्यवस्थापनमा भएको खण्डमा विपद्जन्य घटनामा केही भए पनि कम हुनेछन् । 

जिल्ला प्रशासन कार्यालयमा विपद् व्यवस्थापन समितिको बैठकबाट विपद् न्यूनीकरणका लागि सम्पूर्ण सरोकारवाला निकायलाई तयारी अवस्थामा राखिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेलले जानकारी दिए । 

विपद्का घटना न्यूनीकरणका लागि सबै स्थानीय तहमा ‘क्विक रेस्पोन्स टिम’समेत बनाइएको छ ।  जिल्ला प्रशासनले ‘लाइफलाइन’ सडकका रुपमा रहेको मध्यपहाडी पुष्पलाल राजमार्ग र कालीगण्डकी करिडोरलाई नियमित सञ्चालन, विपद् व्यवस्थापनका लागि आवश्यक पर्ने डोजर, स्काइभेटर, एम्बुलेन्स, दमकललगायतका स्रोत साधन तत्कालै पठाउन मिल्ने गरी तयारी अवस्थामा राख्न सडक डिभिजन, अस्पताल  तथा आयोजना कार्यालयलाई निर्देशन गरिएको छ भने पालिकालाई आफ्नो पालिकाभित्रको पहिरो पन्छाउन सहयोग पुग्ने आवश्यक उपकरण तयारी अवस्थामा राख्न भनिएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार सुरक्षा निकायलाई तयारी अवस्था राखिएको, स्वास्थ्यकर्मीको समूह तयार गरिएको बताउँदै उद्धारमा समस्या नहुनेगरी आवश्यक पूर्वतयारी गरिएको जनाएको छ । 

विपद् हुन नदिनका लागि सचेत रहने, भइहालेमा क्षति न्यूनीकरण गर्नका लागि तत्कालै सूचना प्रभाव गर्ने र जोखिमपूर्ण स्थानमा बढी तयारी गर्ने गरिएको छ तर चट्याङबाट बच्न नागरिक स्वयं सचेत हुन आवश्यक छ । चट्याङ पर्दा चिसो स्थानमा नबस्ने र सकेसम्म घर बाहिर ननिस्कने गर्नुपर्दछ । 

जिल्लाको ढोरपाटन, निसीखोला, जैमिनी गलकोटलगायत जिल्लाका २७ वडा पहिरोको उच्च जोखिममा रहेको विपद् व्यवस्थापन समितिको अध्ययनले देखाएको छ तर विपद् जुनसुकै स्थान र कम सम्भावना भएको स्थानमा झनै ठूलो घटना घट्न सक्ने भएकाले सबै विपद्जन्य निकायलाई तयारी अवस्थामा राखिएको हो । 

विपद् व्यवस्थापनका लागि जिल्लामा विपद् गुल्ममा १२५ तालिम प्राप्त प्रहरी तयारी अवस्थामा राखिएको, जिल्ला प्रहरी कार्यालयमा प्रहरी निरीक्षकको संयोजनमा २५ प्रहरी तयारी अवस्थामा राखिएको र जिल्लाका सबै इलाका प्रहरी कार्यालयमा सानो समूहमा विपद्का लागि तालिम प्राप्त जनशक्ति तयारी अवस्थामा राखिएको बागलुङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दयानिधि ज्ञवालीले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्