
अछामको तुर्माखाँद गाउँपालिका–२ भुलुमा पहिरोले घर पुर्दा मृत्यु भएका ३ जनाको सनाखत भएको छ ।
गएराति १ बजे पहिरोले घर पुर्दा ४२ वर्षीया हरिकला विष्ट, २५ वर्षीय बिरेन्द्र विष्ट र १५ वर्षीय संविधान विष्टको मृत्यु भएको अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनीले जानकारी दिए ।
घटनामा ६५ वर्षीया नैना विष्ट घाइते छिन् । उनलाई उद्दार गरी अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ ।
आइतवार राति १ बजे सुतिरहेकै अवस्थामा उनीहरूलाई घरमाथिबाट आएको पहिरोले पुरेको थियो ।
पहिरोमा परी केही पशुचौपाया समेत मरेको बताइएको छ ।
यसैबीच गृहमन्त्री बालकृष्ण खाँणले सो पहिरो र त्यसले पुर्याएको क्षतिबारे जानकारी लिँदै आवश्यक उद्दार तथा राहतका कार्यमा बाँकी नराख्न सम्बन्धित निकायहरूलाई निर्देशन दिएका छन् ।
अछामका प्रमुख जिल्ला अधिकारी मरासिनी र जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक नारायण डाँडीलाई टेलिफोनमार्फत आवश्यक सहयोगबारे मन्त्रालयमा जानकारी गराउन गृहमन्त्री खाँणले निर्देशनसमेत दिएका छन् ।
उनले घाइतेको यथाशीघ्र उपचार र तत्काल राहत उपलब्ध गराउन समेत निर्देशन दिएका छन् ।