म्यान्मारको सैनिक शासनले एक पूर्व सांसदसहित चारजनालाई मृत्युदण्ड दिएको त्यहाँको सरकारी सञ्चारमाध्यमले सोमवार खबर दिएको छ ।
दशकौंपछि पहिलोपटक म्यान्मारले कसैलाई मृत्युदण्ड दिएको हो ।
क्रूर तथा अमानवीय आतंकवादी गतिविधिको नेतृत्व गरेको आरोपमा ती चारजनालाई मृत्युदण्ड दिइएको ग्लोबल न्यु लाइट अफ म्यान्मार पत्रिकाले लेख्यो ।
कारागारको कार्यविधिअनुसार मृत्युदण्ड दिइएको पत्रिकाले उल्लेख गरेको छ । कहिले र कसरी उनीहरूलाई मारिएको पत्रिकाले खुलाएन ।
सैनिक शासनले कूको विरोध गर्ने दर्जनौं कार्यकर्तालाई मृत्युदण्डको सजाय सुनाएको छ । डेढ वर्षअघि सत्ता हातमा लिएपछि भएको विरोधलाई दबाउन सेनाले कठोर नीति अपनाइरहेको छ ।
लोकप्रिय नेत्री आङ सान सु चीनको दल नेसनल लीग फर डेमोक्रेसीका पूर्व सांसद फ्यो जेया थलाई पनि मृत्युदण्ड दिइएको हो । उनलाई गत नोभेम्बर महिनामा पक्राउ गरी जनवरी महिनामा प्रतिआतंकवाद कानूनअन्तर्गत मृत्युदण्डको सजाय दिइएको थियो ।