
दोलखाको भीमेश्वर नगरपालिका–७ स्थित मकैबारीमा रहेको कालिज फार्ममा चितुवा पसेर आक्रमण गरेको छ । सदरमुकाम चरीकोट बजारको नजिकै फर्ममा दिउँसै चितुवा पसेर आक्रमण गर्दा करिब एक हजारभन्दा बढी कालिज मरेको छ ।
चार हजारभन्दा बढी कालिज पालन गर्ने उक्त फार्ममा दिउँसोदेखि रातभर करिब एक हजारभन्दा बढी कालिज मारेको फार्म सञ्चालक मिंगुर शेर्पाले बताए । फार्ममा काम गर्ने मजदुरले दाना दिने बेलामा कालिज मरेको देखेपछि खोजी गर्दा फार्मभित्र चितुवा भेटिएको थियो ।
दूधपोखरी वाइल्ड लाइफ एग्रो फार्मले विगत दुई वर्षदेखि व्यावसायिक रुपमा कालिज पालन गर्दै आएको थियो । फार्मको एक भागमा साना–साना कालिज र अर्को भागमा बेच्न तथा तल्ला उत्पादनका लागि ठूलो कालिज राखिएकोमा बेच्नका लागि योग्य करिब एक हजार कालिज चितुवाले मारेको उनले बताए । चितुवाले केही कालिज समातेर आक्रमण गर्दा मरे पनि धेरै जस्तो कालिज तार जालीमा ठोक्किएर मरेको पाइएको छ ।
चितुवाको आक्रमणका कारण फार्ममा ४० लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ । कालिजप्रति गोटा ३ हजार ५०० देखि ४ हजारसम्ममा बिक्री हुँदै आएको र अन्डा परेर चल्ला निकाल्नका लागि राखिएका कालिज मर्दा करिब ४० लाखदेखि ४५ लाख रुपैयाँ मूल्य बराबरको क्षति पुगेको सञ्चालक शेर्पाले उल्लेख गरे ।
चारैतिर तार जालीले बारेको फार्मभित्र चितुवा छिरेपछि निस्कने ठाँउ नपाउँदा चितुवाले फार्ममा बढी क्षति गरेको उनको भनाइ छ । फार्मका मजदुरलाई आक्रमण गर्न खोजेकाले स्थानीयवासीले ढु्ङ्गामुढा गर्दा चितुवा सामान्य घाइते भएको थियो । घाइते चितुवालाई सोमवार बिहान काठमाडौंबाट गएको टोलीले नियन्त्रणमा लिएको थियो ।
डिभिजन वन कार्यालयका कर्मचारी र सुरक्षाकर्मीले चितुवा नियन्त्रणमा लिन खोजे पनि नसकेपछि काठमाडौंबाट थप टोली बोलाएर नियन्त्रणमा लिइएको वन कार्यालयका प्रमुख थीरबहादुर कार्कीले बताए । –रासस