
कोरोना भइरसको रोकथाममा नागरिकहरुबाट भइरहेको लापरबाहीले यो रोगको सङ्क्रमण पछिल्ला दिनमा बढ्न थालेको छ । सङ्क्रमित व्यक्तिलाई निगरानीमा राख्न भइरहेको कमीकमजोरी र सङ्क्रमित स्वयम्ले पनि चासो नदिँदा यो रोगको सङ्क्रमण दर बढ्न थालेको स्वास्थ्यकर्मीले बताएका छन् ।
कैलालीको गौरीफन्टा सीमानाकास्थित हेल्थ डेस्कका अहेब गणेश साउदले नागरिकहरुले आफ्नो व्यक्तिगत सरसफाइमा ध्यान नदिँदा र सङ्क्रमित व्यक्तिबाट लापरबाही हुँदा पछिल्ला दिनमा सङ्क्रमण बढेको बताए ।
मास्क लगाएर सङ्क्रमण हुनबाट सुरक्षित हुन सकिने भए पनि अधिकांश नागरिकले मास्क र स्यानिटाइजरको प्रयोग गरेको देखिँदैन । सीमानाका हुँदै नेपाल भित्रिने कोरोना पोजेटिभ बिरामीलाई सिधै होम आइसोलेशनमा पठाउने गरिएको छ ।
धनगढीको कनरीमा विगतमा सञ्चालनमा आएको आइसोलेशन सेन्टर बन्द रहेको छ भने कोरोना रोकथामलाई लक्षित गरेर धनगढी–३ मा निर्माण पूरा भएको होल्डिङ सेन्टर पनि प्रयोगमा ल्याइएको छैन । नेपाली सेनामार्फत निर्माण भएको होल्डिङ सेन्टर पालिकालाई हस्तान्तरण गर्न बाँकी रहेको जनाइएको छ ।
कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले सरोकारवालासँग छलफल गरेर कोरोना भाइरसको रोकथामको पहल भइरहेको बताए ।