
बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले बैंक दर वृद्धि र कर्जा प्रवाहमा संकुचनले मौद्रिक नीति कार्यान्वयन चुनौतिपूर्ण हुने बताएको छ । सिबिफिनले मौद्रिक नीतिका सम्बन्धमा जारी गरेको संस्थागत धारणामा बाह्य क्षेत्रका विविध घटनाक्रमले नेपालको अर्थतन्त्रमा नकारात्मक असर देखिएको हुँदा यस्तो बेला आएको नीतिले आर्थिक स्थिरता कायम गर्न चुनौतिपूर्ण हुने दाबी गरेको छ ।
मौद्रिक नीतिमा उल्लेख गरिएअनुसार मूल्यवृद्धि सीमाभित्र राख्न, विदेशी मुद्राको सञ्चितिलाई स्थिर राख्न, भुक्तानी सन्तुलन कायम गर्न, कमजोर उत्पादन प्रणालीका कारण चुलिँदो आयातलाई प्रतिस्थापन गर्नका लागि उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनु चुनौतिपूर्ण हुने सिबिफिनकाे ठहर छ ।
राष्ट्र बैंकले शुक्रवार जारी गरेको चालू आर्थिक वर्षको मौद्रिक नीतिले बैंकदरमा वृद्धि, अनिवार्य नगद मौज्दात एवं वैधानिक तरलता अनुपातको सीमा वृद्धि, आयात गर्न राखिने मार्जिनलाई परिमार्जन (घटाइएको), कर्जा प्रवाहको सीमामा संकुचनजस्ता विषयले तरलता व्यवस्थापनमा थप कठिनाइ हुने सिबिफिनको भनाइ छ ।
सिबिफिनका अनुसार मौद्रिक नीतिका कारण उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गर्दै आयात प्रतिस्थापन गर्ने र आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्नमा थप चुनौतिपूर्ण हुने देखिएको छ । यसबाट बैंक तथा वित्तीय क्षेत्रमा गरिएको लगानीको प्रतिफलमा संकुचन हुन जाने सहजै अनुमान सिबिफिनले गरेको छ ।
बैंक तथा वित्तीय क्षेत्रबाट प्रवाह हुने कर्जाको वर्गीकरण गरी उत्पादनशील क्षेत्र र व्यापारमा जाने कर्जामा फरक ब्याजदर कायम गरिने, उत्पादनमूलक क्षेत्रको विकास एवं कर्जालाई उत्पादनशील क्षेत्रमा प्रवाह गराइने, निर्यात प्रवद्र्धनमा विशेष प्राथमिकता दिइने व्यवस्थालाई भने सम्बोधन भएकोमा यस संस्थाले स्वागतसमेत गरेको छ ।
विप्रेषणलाई औपचारिक माध्यमबाट स्वदेश भित्र्याएको प्रमाणका आधारमा विभिन्न सेवा तथा सुविधा छुट हुने व्यवस्थाका लागि समेत यसै वर्ष समन्वय हुने, विदेशी लगानी आप्रवाहलाई थप स्वचालित गर्न विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ मा आवश्यक संशोधन गरिने पक्ष पनि सकारात्मक भएको उल्लेख गरेको छ ।
नेपाल भित्रिने विप्रेषण आप्रवाहको दायरा फराकिलो पार्न विप्रेषणसम्बन्धी विद्यमान व्यवस्थामा पुनरावलोकन गरिने, विदेश जाने नेपालीले विदेशी मुद्रा साट्न बैंक खाता अनिवार्य गरिनेजस्ता व्यवस्थालाई पनि सकारात्मक भन्दै सिबिफिनले स्वागत गरेको छ ।