०५ असार २०८३, शुक्रबार

उपमेयर डंगोल र साझाका प्रतिनिधिबीच सार्वजनिक यातायात व्यवस्थित गर्नेबारे छलफल

उपमेयर डंगोल र साझाका प्रतिनिधिबीच सार्वजनिक यातायात व्यवस्थित गर्नेबारे छलफल

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलसँग साझा यातायातका अध्यक्ष कनकमणि दीक्षित र बोर्ड सदस्य सुशील प्याकुरेलले भेटवार्ता गरेका छन् । भेटमा काठमाडौं उपत्यकाको सार्वजनिक यातायातलाई व्यवस्थित तथा सेवाग्राहीका लागि सहज र थप सर्वसुलभ बनाउने विषयमा छलफल भएको छ । 

उपमेयर डंगोलसँग कार्यकक्षमै भेट गरी उनीहरूले यस विषयमा छलफल गरेका हुन् । छलफलका क्रममा उपमेयर डंगोलले आफ्नो चुनावी घोषणापत्रमै महानगरभित्र रहेको यातायातलाई व्यवस्थित तथा आधुनिकीकरण गर्न नयाँ प्रविधियुक्त यातायात पद्धतिको विकास गर्ने विषयलाई समावेश गरेको भन्दै त्यस्ता सन्दर्भमा आफू सकारात्मक रहेको बताएकी थिइन् । 

‘काठमाडौं महानगरको मात्रै होइन उपत्यकाकै यातायातलाई व्यवस्थित तथा आधुनिकीकरण गर्नुपर्छ भन्ने मेरो मान्यता हो,’ छलफलका सिलसिलामा आफूले राखेको धारणाबारे डंगोलले भनिन्, ‘काठमाडौं उपत्यकाको सार्वजनिक यातायातलाई व्यवस्थित, सेवाग्राहीका लागि सहज र थप सर्वसुलभ बनाउने एजेण्डा काठमाडौं महानगरपालिकाको पनि हो । साझाको यी एजेण्डामा हामी सकारात्मक छौँ र सहकार्य गर्न तयार छौँ ।’ 

डंगोलले यस अघि पनि महानगरपालिकाले साझासँग सहकार्य गरेको स्मरण गराउँदै पहिला भएका सम्झौतालाई समेत आधार मानेर विज्ञहरूसँग छलफल गरी थप व्यवस्थित र भरपर्दो तरिकाले अघि बढ्नु पर्नेमा जोड दिइन् । 

भेटमा दीक्षितले उपत्यकामा शहरी सार्वजनिक यातायात कमजोर अवस्थामा रहेको भन्दै यसको सुधारका लागि आफूहरू लागिरहेको बताएका थिए । दीक्षितले भेटमा २०७६ साल असारमा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा सरकारले तीन अर्ब लगानी गरी सार्वजनिक यात्रा, जनस्वास्थ्य र अर्थतन्त्रलाई एकैपटक ठूलो परिवर्तन गर्ने योजना अघि बढाएको स्मरण गराएका थिए । 

‘विभिन्न कारणले योजना समयमा अघि बढ्न नसक्दा केही ढिला भयो,’ बोर्ड सदस्य प्याकुरेलले भेटपछि भने, ‘अहिले साझाले पहिलो चरणमा करीब ७० करोडमा ४० विद्युतीय बस खरिद गरेकामा तीन ओटा बस आइसकेका छन् । बाँकी ३७ बस दशैँपछि आउँदैछन् ।’ 

साझाका प्रतिनिधिहरूले विद्युतीय बसका लागि चार्जिङ स्टेसनको व्यवस्थापन गर्न उपमेयर डंगोलसँग आग्रह गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्