
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले त्रिवि प्राध्यापक संघका पदाधिकारीसँग छलफल गरेका छन् । उनले विश्वविद्यालयमा हुने तालाबन्दी, खुला विश्वविद्यालयको डिन नियुक्तिमा भएको ढिलाइ लगायतबारे संघका पदाधिकारीहरूसँग छलफल गरेका हुन् ।
मंगलवार सिंहदरबारमा भएको छलफलमा विश्वविद्यालय सुधारका लागि प्राध्यापकहरूको भूमिका महत्वपूर्ण रहेको भन्दै मन्त्री पौडेलले विश्वविद्यालयमा तालाबन्दी नगर्न आग्रह गरे । ‘प्राध्यापकहरू विश्वविद्यालयका परिवार हुनुहुन्छ,’ उनले भने, ‘समस्याहरू आइपर्छन्, समस्या आइहाले भन्दैमा तालाबन्दी गरेर बस्नु राम्रो होइन, छलफल र बहसबाट टुंग्याउँ ।’
खुला विश्वविद्यालयको डिन नियुक्तिका सन्दर्भमा पनि मन्त्री पौडेलले प्राध्यापकहरूसँग सुझाव मागेका थिए । ‘आस्थाका आधारमा भन्दा योग्य व्यक्ति नियुक्त गर्नुपर्छ भन्नेमा छु,’ उनले भने, ‘ऐनले सहमति अथवा खुला प्रतिस्पर्धाबाट भनेको छ, सहयोग गर्नुहोस् ।’