
प्रधानमन्त्री शेरबहादुर देउवाले सञ्चारमाध्यमलाई समय सुहाउँदो रूपमा परिमार्जित गर्दै लैजानुपर्ने आवश्यकता रहेको बताएका छन् ।
बुधवार काठमाडौंमा राष्ट्रिय समाचार समिति (रासस) को नवनिर्मित कार्यालय भवनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताए ।
उनले विश्वमा सूचना तथा प्रविधिको द्रुतगतिमा भइरहेको विकासलाई मध्यनजर गरेर सहज र आधुनिक माध्यमबाट नागकिरलाई सत्यतथ्य सूचना प्रकाशन गर्न सक्नुपर्ने बताए । उनले सत्यतथ्य सूचना प्रसारण गर्न सके मात्र लोकतन्त्र संस्थागत हुने बताए ।
प्रधानमन्त्री देउवाले नागरिकको सूचनाको हकलाई सुनिश्चित गर्न सञ्चारमाध्यमलाई थप चुस्त बनाउन आवश्यक रहेको उल्लेख गरे । उनले नागरिक शिक्षित र सुसूचित भए मात्रै सरकार जिम्मेवार बन्न सक्ने बताए ।
प्रधानमन्त्री देउवाले नागरिकलाई शिक्षित र सुसूचित गर्ने गरेर सञ्चारमाध्यमले सत्यतथ्य सूचना प्रसारण गर्न जरुरी रहेको उल्लेख गरे । उनले तथ्यहीन, भ्रामक समामजमा द्वेष फैलाउने वा अतिरञ्जना पैदा गर्ने सूचनाले नागरिकहरूमा भ्रामकता सिर्जना हुने र पत्रकारिताको मूल मर्ममाथि पनि प्रहार हुने भएकाले स्वच्छ पत्रकारिताको विकास गर्नु आवश्यक रहेको बताए ।