
अमेरिकामा अहिले डक्टरहरूको अभाव छ ।
शहर र गाउँ सबैतिर यसले असर पारिरहेको छ । थोरै चिकित्सकहरूलाई भेट्न बिरामीहरू लामो लाइन लाग्न बाध्य छन् । केही चिकित्सकहरूसँग परामर्श लिनका लागि महिनौंदेखि अपोइन्टमेन्ट लिनुपर्ने बाध्यता छ ।
समयमा उपचार नपाएर मानिस गम्भीर बिरामी भइरहेका छन् ।
अमेरिकामा अहिले १० लाख ७३ हजार डक्टर छन् । तीमध्ये लगभग चार लाख यसै वर्ष रिटायर हुँदैछन् ।
एसोसिएसन अफ अमेरिकन मेडिकल कलेजले सन् २०२० मा प्रकाशित गरेको तथ्यांकअनुसार अमेरिकामा सन् २०३३ सम्म १ लाख ३९ हजार चिकित्सकको अभाव हुने सम्भावना छ । प्राथमिक र गहन चिकित्सा दुवै क्षेत्रमा चिकित्सकहरूको अभाव हुनेछ ।
सन् २०२१ को सेप्टेम्बर महिनामा काइजर फेमिली फाउन्डेसनको रिपोर्टमा उल्लेख भएअनुसार अमेरिकामा ८ करोड ३७ लाख मानिस प्रारम्भिक उपचार समेत नपाइने क्षेत्रमा बसिरहेका छन् ।
अमेरिकी सरकारले नयाँ चिकित्सकहरू ल्याउन सकेको छैन । सरकारले चिकित्साशास्त्र अध्ययन गरिरहेकालाई ऋणमा राहत दिनुपर्ने हो । त्यसो हुँदा उनीहरू सजिलैसँग कोर्स पूरा गर्न सक्छन् ।
डक्टरहरूको संख्या थोरै हुनुमा रंगभेद पनि एउटा कारण हो । सन् २०२१ मा प्रकाशित जर्नल अफ जनरल इन्टर्नल मेडिसिनको आँकडाअनुसार अमेरिकामा कुल डक्टरमध्ये ५.४ प्रतिशत मात्र अश्वेत छन् ।