
साँझ पूर्ण स्वस्थ्य रहेर सुतेका मध्यपुरथिमि नगरपालिका–९ राधेराधेका सुवास कार्कीको आँखा बिहान उठ्दा पुरै रातो भयो । दुई वटै आँखा निकै दुखिरहेको थियो भने आँखा सुन्निएको थियो । विस्तारै आँखा चिलाउने र पानी बग्ने पनि हुन थाल्यो । दुवै आँखा रातो भए पछि घरबाट बाहिर निस्कन समस्या प¥यो ।
अचेल सुवासको मात्रै होइन, धेरैमा यो समस्या देखिएको छ । मध्यपुरथिमि नगरपालिका–१ स्थित विपी नेत्र प्रतिष्ठानमा आँखा पाक्ने रोगको समस्या लिएर दैनिक सयभन्दा बढी बिरामी आउने गरेको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानका आँखा रोग विशेषत्र डा अर्जुन श्रेष्ठले केहीदिन यता आँखा पाक्ने रोग निकै बढेको बताए ।
प्रदूषित हावा र मौसमका कारण आँखा पाक्ने रोग बढेको चिकित्सकको भनाइ छ । अहिले आँखा पाक्ने रोग लिएर उपचारका लागि आँखा अस्पताल तिलगङ्गादेखि विभिन्न सरकारी तथा निजी अस्पताल र प्राइभेट क्लिनिकहरुमा बिरामीको चाप बढेको छ ।
यसबाट बच्न रोग भएकाले प्रयोग गरेका कुनै पनि सामान नधोइकन प्रयोग नगर्ने, पटक पटक हात–मुख धुने, आँखा पाकेका बिरामीले प्रयोग गरेका रुमाल, कपडा, ओछ्यान जस्ता सामानको अरूले प्रयोग नगर्ने, एउटा आँखाबाट अर्को आँखामा रोग नसरोस् भन्नका लागि आँखा नजिक नहेर्ने, डाक्टरलाई जाँच गराएर औषधिको प्रयोग गर्न डा श्रेष्ठले सुझाव दिए ।