२४ जेठ २०८३, आइतबार

कारागाहरूलाई खुला स्थानमा सार्ने तयारी भइरहेको छ : गृहमन्त्री खाण

कारागाहरूलाई खुला स्थानमा सार्ने तयारी भइरहेको छ : गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले कारागारहरूलाई खुला स्थानमा स्थानान्तरण गरिने बताएका छन् । बिहीवार राष्ट्रिय सभाको दोस्रो बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त कारागार विधेयक २०७९ माथि छलफलका क्रममा उठेको प्रश्नहरूको जवाफ दिँदै मन्त्री खाणले यस्तो बताएका हुन् । 

उनले अधिकांश कारागारहरू शहरको मध्य भागमा रहेको भन्दै ती कारागारहरूलाई ठूलो भू–भागमा स्थानान्तरण गर्ने सरकारको योजना रहेको सुनाए । केही ठाउँमा नयाँ कारागार निर्माण गर्ने सरकारको योजना रहेको उनको भनाइ थियो । उनले कारागारको क्षेत्रफल ठूलो बनाएर कैदीबन्दीहरूलाई कृषि उत्पादनको काममा लगाउन सकियोस् भन्ने सरकारको धारणा रहेको उल्लेख गरे । उनले भने, ‘बन्दी गृहलाई अब सुधार गृह बनाउनु जरुरी छ । त्यसका लागि हामी प्रयत्नशील छौँ ।’

शहरको मध्यभागमा रहेका बन्दीगृहहरूलाई बजारको किनारमा सार्ने जनताको माग पनि रहेको गृहमन्त्री खाणको भनाइ थियो । ‘उपयुक्त ठाउँमा जमिन खोजेर बजेटको व्यवस्थापन गरेर नयाँ बन्दीगृह बनाउने र त्यसलाई सुधारगृहको रुपमा परिणत गरेर बन्दीहरूलाई सुविधाजनक जीवन जिउने वातावरण बनाउने हामी कार्ययोजनामा छौँ’, उनले भने । 

छलफलका क्रममा बोल्दै सांसद तुलसाकुमारी दाहालले यौनजन्य हिंसाका अपराधीहरूलाई छुट दिनु नहुने बताइन् । उनले सुत्केरीहरूलाई ९० दिनसम्म बाहिर बसेर स्याहार गर्ने व्यवस्था गर्नुपर्ने बताइन् । युवाहरूलाई श्रम शिविरमा राखेर श्रम गराउनुपर्नेमा उनले जोड दिइन् । 

सांसद सुरेशकुमार आले मगरले कारागारलाई सुधार गृहको रूपमा विकास गर्ने कुरा व्यवहारमा लागू हुनुपर्ने बताए । उनले कारागारभित्र मनोसामाजिक परामर्श आवश्यक भएको उल्लेख गरे ।

सांसद डा. विमला राई पौड्यालले कारागारभित्र हुने व्यवहारलाई सुधार गर्नु जरुरी रहेको बताइन् । उनले महिला बन्दीहरूलाई पुरुष सुरक्षाकर्मी र कर्मचारीहरूले यौनजन्य दुव्र्यवहार गर्ने गरेको भन्दै यस्तो घटनामा गोप्य रूपमा उजुरी गर्ने र दोषीलाई कारबाही गर्ने व्यवस्था गरिनुपर्ने बताए । 

सांसद उदयबहादुर बोहोराले कारागारभित्र चौकिदार, नाइके र भाइ नाइकेहरूले शासन चलाइरहेको बताउँदै त्यस्तो रवैया रोक्नुपर्ने बताए । उनले राजनीतिक बन्दी र अन्य बन्दीलाई गरिने व्यवहार फरक हुनुपर्ने बताए । 

सांसद भैरवसुन्दर श्रेष्ठले कारागारमा पुस्तकालयको व्यवस्था हुनुपर्ने र कैदीबन्दीहरूलाई सीपमूलक तालिमहरू दिनुपर्ने बताए । उनले कैदीलाई अपायक पर्ने ठाउँमा स्थानान्तरण गर्नु नहुने बताए । 

सांसद भुवनबहादुर सुनारले कैदी बन्दीलाई कारागारमा चौकीदारहरूबाट ज्यादती हुने गरेको भन्दै त्यस्तो हुन नहुने बताए ।

बिहीवार बसेको राष्ट्रिय सभाको दोस्रो बैठकले राष्ट्रिय सभाबाट पारित गरी प्रतिनिधि सभामा पठाइएको नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक २०७६ लाई प्रतिनिधि सभाबाट भएको संशोधन स्वीकारसहित पुनः पारित गरेको छ ।

त्यस्तैगरी राष्ट्रिय सभाबाट पारित गरी प्रतिनिधि सभामा पठाइएको ज्येष्ठ नागरिक सम्बन्धी (पहिलो संशोधन) विधेयक २०७५ लाई प्रतिनिधि सभाबाट भएको संशोधन स्वीकारसहित पुनः पारित गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्