
राष्ट्रिय सभाबाट पनि नागरिकता विधेयक पारित भएको छ । बिहीवार बसेको राष्ट्रिय सभाको तेस्रो बैठकबाट प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ बहुमतले पारित भएको हो ।
प्रतिनिधि सभाको गत साउन ६ गते शुक्रवार बसेको बैठकले उक्त विधेयक पारित गरिसकेको छ । उक्त विधेयक पारित गर्ने उद्धेश्यले बिहीवार एकैदिन तीनवटा बैठक आह्वान गरिएको थियो । विधेयकमाथि बिहीवार नै दफाबार छलफल प्रारम्भ भएको थियो ।
अब उक्त विधेयक राष्ट्रपति विद्या भण्डारीबाट प्रमाणीकरण भएपछि लागू हुनेछ ।
यसअघि तत्कालीन केपी ओली नेतृत्वको सरकारले २०७५ मा नागरिकता विधेयक संसदमा प्रस्तुत गरेको थियो । सरकारले उक्त विधेयक फिर्ता लिएर नयाँ विधेयक दर्ता गराएको थियो ।
त्यसैगरी बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त खानेपानी तथा सरसफाई विधेयक, २०७९ पनि पारित गरेको छ । राष्ट्रिय सभाको अर्को बैठक २०७९ साउन २३ गते सोमवार दिउँसो १ बजेका लागि बोलाइएको छ ।