
तनहुँको भानु नगरपालिका–१० चोककोट घर भई हाल मकाउमा रहेका एक दम्पतीले आफ्ना स्व. बुवाआमाको स्मृतिमा विद्यालयलाई १ लाख ६ हजार सहयोग गरेका छन् ।
भानु नगरपालिका–१२ स्थित विद्या निकुञ्ज माध्यमिक विद्यालयलाई किशोर प्रकाश गुरुङ र उनकी पत्नी ज्ञान कुमारीले स्व. बुवा नारायणसिंह तथा आमा तथा सासु हिरादेवीको स्मृतिमा रकम सहयोग गरेका हुन् ।
आफूले अध्ययन गरेको विद्यालयलमा केही सहयोग गर्ने चाहना अनुरूप आर्थिक सहयोग गरेको किशोर प्रकाश गुरुङले जानकारी दिए । विक्रम संवत् २०४६ सालको एसएलसी ब्याजका पूर्व विद्यार्थीबाट हालसम्मकै ठूलो रकम सहयोग प्राप्त भएको विद्यालय प्रशासनले जनाएको छ । गुरुङ दम्पतीले प्रदान गरेको रकमबाट विद्यालयमा खानेपानी समस्या समाधान तथा गरीब एवं असहाय बालबालिकालाई शैक्षिक सामग्री खरिद गर्नको लागि सहयोग गरिने बताइएको छ ।
पूर्व विद्यार्थी भएको हैसियतले विद्यालयको मायाले विद्यालय सुधार गर्नका लागि थप सहयोग पुग्ने दाता गुरुङ दम्पतीको विश्वास छ ।