
अमेरिकी सभामुख न्यान्सी पलोसीले ताइवानको भ्रमण गर्ने भएपछि चिनियाँ जनमुक्ति सेनाको जलसेनाले आफ्ना दुईवटा विमानवाहक युद्धपोत ताइवान जलसन्धिमा तैनाथ गर्ने भएको छ ।
विभिन्न सञ्चारमाध्यमले पलोसी मंगलवार राति ताइवान पुग्न सक्ने बताएका छन् ।
युद्धपोत लियाओनिङ पूर्वी चीनको शानदोङ प्रान्तबाट तथा शानदोङ युद्धपोत हाइनान प्रान्तबाट ताइवान जलसन्धितर्फ गएका छन् । त्यससँगै टाइप ०७५ उभयचर आक्रमण जहाज पनि पठाइएको छ ।
चीन सरकारको मुखपत्र ग्लोबल टाइम्सले प्राप्त गरेको भूउपग्रहीय तस्वीरमा ती युद्धपोतहरू आफ्नो बन्दरगाह छोडेको पाइएको छ ।
पलोसीको विमान ताइवानमा अवतरण गर्न खोजेमा चीनले युद्धविमानहरू पठाएर त्यसलाई भगाउन सक्ने चिनियाँ विज्ञ र विश्लेषकहरू बताउँछन् ।
यसैबीच अमेरिकी जलसेनाको रोनल्ड रेगन विमानवाहक युद्धपोत स्ट्राइक ग्रुप सहित ताइवानको दक्षिणपूर्वी भागमा फिलिपिन्स सागरमा रहेको यूएसएनआई न्युजले खबर दिएको छ । त्यसले पलोसीको विमानलाई एस्कोर्ट दिन सक्ने विश्लेषकहरू बताउँछन् ।
ताइवानका सञ्चारमाध्यमहरूले लियाओनिङ युद्धपोत दक्षिणतर्फ अनि शानडोङ युद्धपोत उत्तरतर्फ जान सक्ने बताएका छन् । यसरी चीनका दुई युद्धपोतले ताइवानलाई दुवैतर्फबाट घेरेर पलोसीलाई रोक्न कोशिश गर्न सक्छन् ।