
अर्थमन्त्री जनार्दन शर्माले अहिलेको बजेट उत्पादनमुखी रहेको भन्दै उत्पादनमा जोडिन सबैलाई आग्रह गरेका छन् । मंगलवार भीमदत्त पन्त स्मृति दिवसको कार्यक्रममा बोल्दै उनले सरकारले ल्याएको बजेट कृषि उत्पादनमा केन्द्रित भएको बताए ।
उनले कृषिमा आत्मनिर्भरता र औद्योगिक उत्पादनमार्फत आयात प्रतिस्थापन गर्नेे व्यवस्था बजेटले गरेको बताए । मन्त्री शर्माले श्रम, स्रोत र प्रविधिको एकीकृत परिचालनद्वारा मात्रै नेपाललाई समुन्नत बनाउन सकिने बताए ।
मन्त्री शर्माले भूमिहीनहरूलाई जमिन दिएर, पुँजी नहुनेहरूको लागि पुँजी उपलब्ध गराएर र औजार नहुनेलाई औजार दिएर कृषिमा जोड्नुपर्ने आवश्यकता रहेको बताए । उनले कृषिमा जोडेमात्रै मुलुकको अर्थतन्त्र सवलीकरण हुनसक्ने बताए ।
उनले भने, ‘आजको राष्ट्रियता भनेको सवल,आत्मनिर्भर अर्थतन्त्र हो । सबै युवादेखि वृद्धसम्मलाई कृषि क्षेत्रको उत्पादनमा सहभागी गरौँ । काठमाडौंको लागि चाहिने तरकारी काठमाडौं आसपासको जिल्लाले उत्पादन गरौँ । अब आयात गरेर खाइरहेको कुरालाई अन्त्य गर्नुपर्छ । तरकारीमा ६ महिनामा आत्मनिर्भर हुनसक्छौंँ ।’