अन्नपूर्ण चक्रीय पदमार्गको प्राकृतिक रूपमै आकर्षक पर्यटकीयस्थल रूपसे झरनाको सौन्दर्य बर्सेनी आउने बाढीपहिरोको कारण नासिँदै जान थालेको छ । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा पर्ने यो झरना अत्यन्तै आकर्षक र मनमोहक थियो । तर, विसं २०७७ साउन ५ गते सोमवारको भीषण वर्षापछि आएको बाढीले रूपसेको सौन्दर्य बिगारेपछि त्यसयता झरनाको प्राकृतिकस्वरूप नासिँने क्रम बढ्दै गएको हो ।
समुद्री सतहबाट झण्डै एक हजार आठ सय मिटरको उचाइको यो झरना कालीगण्डकीको खोँचले बनाएको संसारकै गहिरो अन्धगल्छीदेखि केही माथि रहेको छ । यस झरनाले हुलाक टिकटमासमेत स्थान पाइसकेको छ ।
हिमालपारीको जिल्ला मुस्ताङ जाने बेनी–जोमसोम सडकखण्डअन्तर्गत पर्ने यस अन्धगल्छीमा मुस्ताङ आवतजावत गर्ने पर्यटक पुगेर अवलोकन गर्ने गर्दछन् । विश्वमै शालिग्राम पाइने एकमात्र कालीगण्डकी नदीले निर्माण गरेको अन्धगल्छीको गहिराई ६ हजार ९६७ मिटर रहेको छ । संसारको सातौँ अग्लो चुचुरो धौलागिरी र अन्नपूर्ण हिमालको बीचमा अवस्थित यो गल्छी समुद्री सतहबाट एक हजार २०० मिटरको उचाइमा अवस्थित छ । गल्छीको अवलोकन गर्न दैनिक रूपमा आन्तरिक एवं बाह्य पर्यटक त्यहाँ पुग्ने गरेका छन् ।
म्याग्दी सदरमुकाम बेनीबजारदेखि ३० किलोमिटर उत्तरमा पर्ने रूपसे तथा अन्धगल्छी पुग्न यातायातका साधनमार्फत करिब तीन घण्टा र पैदल करिब एक दिनको यात्रा तय गर्नुपर्छ । बेनी–जोमसोम सडकखण्ड अन्तर्गत पर्ने अन्धगल्छी र रूपसे झरनामा बेनीबाट सवारीसाधनमार्फत तीन घण्टामा सजिलै पुग्न सकिन्छ । मुस्ताङ जाने पर्यटक सवारी रोकेर यस झरनामा फोटो खिच्छन् ।
रूपसेमा रमाउने योजना बनाएका हजारौँ आन्तरिक तथा बाह्य पर्यटकले २०७७ साउनयता भने यसको पुरानो सौन्दर्यलाई देख्न पाएका छैनन् । विसं २०७७ साउनमा रूपसेमा आएको बाढीले झरनाको सौन्दर्य मात्र होइन एक होटेल, पुल र स्काभेटर समेत बगाएको थियो । झरनामा आएको बाढीले गोल्ड ल्याण्ड वाटर फल होटेल, गजुरमुखी कम्पनीको एउटा स्काभेटर मेसिन, बस र पुल बगाएपछि त्यस क्षेत्रको सुन्दरता नै उजाडिएको स्थानीयवासी कृष्णबहादुर पुनले बताए । पुनका अनुसार अब रूपसे झरनालाई पुरानै स्वरूपमा फर्काउन निकै श्रम र लगानीको आवश्यक पर्ने भएको छ ।
अहिले रूपसे झरना उजाड र कुरूप बनेको उनको भनाइ छ । विसं १९७५ मा ७५ पैसाको हुलाकी टिकटमा रूपसेको फोटो टाँसिएको थियो । अहिले प्रचलनमा नरहे पनि रूपसेको प्रचारप्रसार त्यतिखेर देखिनै भएको स्थानीय बृद्धले बताएका छन् ।
विसं २०७५ यता हिमाली जिल्ला मुस्ताङमा स्थलमार्ग हुँदै भ्रमणमा जाने आन्तरिक पर्यटकको संख्या उल्लेख्य रूपमा बढेको थियो । ती पर्यटक रूपसे झरना देखेर लोभिने गरेका थिए । तर, बाढीले रूपसेको चीरहरण गरिदिएपछि सबैको सपना भताभुङ्ग भएको पर्यटन व्यवसायी शेरचनले बताए । रासस