
हरितालिका तीजको अवसरमा ‘डावर वाटिका तीज फेस्टिवल–श्रृजनशील उद्यमी मेला–२०७९’ आयोजना हुने भएको छ ।
मेला आगामी साउन २७ देखि ३१ गतेसम्म हुने आयोजक महिला श्रृजनशील केन्द्रले मंगलवार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
केन्द्रको आयोजना तथा राइजिङ नेपाल प्रालिको व्यवस्थापनमा मेला सम्पन्न हुन लागेको हो ।
मेलालाई डाबर नेपालको डाबर वाटिका स्याम्पुले मुख्य प्रायोजन गरेको छ ।
यस्तै कान्तिपुर पब्लिकेशनको नारी म्यागेजिन मुख्य सह–प्रायोजकको रूपमा रहेको छ ।
उक्त ५ दिने मेला काठमाडौंको त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरको चौथो तलामा हुने आयोजकले बताएको छ ।
विगत १९ वर्षदेखि सो मेला हुँदै आएको छ ।
मेलाले श्रृजनशील महिलालाई सीप र दक्षता अभिवृद्धि गराई सफल उद्यमी बनाउन केन्द्रित हुने आयोजकले जनाएको छ ।
मेलालाई २५ हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको आयोजक महिला श्रृजनशील केन्द्रकी प्रमुख मिलु थापाले जानकारी दिइन् । उनका अनुसार, मेलामा एक सयभन्दा बढी स्टलहरू रहेका छन् ।
मेलामा घरेलु तथा हस्तकलाका सामाग्रीहरूको प्रदर्शनी, तीज विशेष खानाका परिकारहरू, महिला उद्यमशिलता र वित्तीय पहुँच सम्बन्धी अन्तरक्रिया कार्यक्रम, निशुल्क स्वास्थ्य शिविर लगायतको व्यवस्था गरिने आयोजकले जनाएको छ ।