काठमाडौँ, १२ साउन - व्यवस्थापिका–संसद्का गतिविधिलाई सहज तवरले आम नागरिकमा पु¥याउने लक्ष्यका साथ संसद् सचिवालयले आजदेखि ‘व्यवस्थापिका–संसद् नेपाल’ मोबाइल एप सञ्चालनमा ल्याएको छ ।

यस्तै www.parliament.gov.np नयाँ वेबसाइट पनि आजैदेखि सञ्चालनमा आएको छ । सभामुख ओनसरी घर्तीले व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा आज मोबाइल एप र वेबसाइटको शुभारम्भ गरिन् ।
मोबाइल एप प्लेस्टोर र एप स्टोरबाट डाउनलोड गर्न सकिनेछ । एप डाउनलोड गरेपछि संसारको जुनसुकै स्थानबाट पनि सांसदलाई प्रश्न गर्न सकिनेछ । यस्तै अन्य विषयमा पनि सूचना लिन र संसदीय गतिविधिका बारेमा जानकारी लिनसमेत एप प्रभावकारी हुने संसद् सचिवालयले विश्वास लिएको छ ।
संसद् सचिवालयले यसअघि संसद्को गतिविधिलाई यु ट्युबाट प्रत्यक्ष प्रसारण गर्ने कार्य सुरु गरिसकेको छ ।
सभामुख घर्तीले संसद्का गतिविधिलाई कागजविहीन बनाउने लक्ष्यका साथ सूचना प्रविधिको अधिकतम उपयोग गर्ने नीति लिएको बताइन् ।