
सर्लाही जिल्लाअन्तर्गत पर्ने हुलाकी सडक खण्डको निर्माण सुस्त भएको छ ।
निर्माण शुरू भएको वर्षौं भइसक्दा पनि काम सम्पन्न नहुँदा बनेका सडक पनि अहिले जीर्ण भइसकेका छन् ।
जीर्ण सडकको स्तरोन्नति समेत नहुँदा स्थानीय हिउँदमा धुलो र वर्षामा हिलोको सास्ती खेप्न बाध्य भएका छन् ।
राणाकालीन समयमा चिठीपत्र पुर्याउने ‘हुलाकी’ कुद्ने भनेर रेखांकन गरिएको पूर्वदेखि पश्चिम जोडिने ‘हुलाकी सडक’ निर्माण शुरू भएको लामो समय भइसक्दा पनि निर्माण सम्पन्न नहुँदा स्थानीय समस्यामा परेका छन् ।
तत्कालीन राजा महेन्द्र शाहले हुलाकी सडकलाई प्राथमिकतामा नपारी मधेशको बस्तीभन्दा २०–३० किलोमिटर उत्तर चुरेछेउमा जंगल फँडानी गरेर पूर्वपश्चिम लोकमार्ग निर्माण अघि बढाएपछि हुलाकी सडक निर्माणको काम ओझेलमा परेको थियो ।
यसयता पनि मधेशको जीवनस्तर बदल्ने महत्त्वपूर्ण मार्गका रूपमा मानिएको सडक सरकारी प्राथमिकतामा पर्न सकेको छैन ।
हुलाकी सडक स्थापनापश्चात् ४ शासन व्यवस्था फेरिएर संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा पनि सडक निर्माणले तीव्र गति नपाउनु मधेशका लागि दुर्भाग्य हो । कूल ४० दशमलव ३७ किलोमिटर हुलाकी सडक निर्माण गर्न ६४ करोड रुपैयाँमा ५ वर्षभित्र हुलाकी सडक कालोपत्र सक्ने गरी हिन्दुङ्ग एन्ड ठोकर हिरा एन्ड नमीता जेभी/हिन्दुङ्ग एन्ड ठोकर शाहा निर्माण सेवा र दिवा निर्माण सेवालाई २०७३ सालमा ३ वटा प्याकेजमा ठेक्का लगाइएको थियो ।