०८ असार २०८३, सोमबार

कोभिड–१९ संक्रमितको ‘जिन सिक्वेनसिङ’ गरिने

कोभिड–१९ संक्रमितको ‘जिन सिक्वेनसिङ’ गरिने

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को बैठकले कोभिड–१९ को नयाँ भेरियन्टका सन्दर्भमा अध्ययन गर्न संक्रमितको ‘जिन सिक्वेनसिङ’ गर्ने निर्णय गरेको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रवार बसेको सीसीएमसीका पदाधिकारीको बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणबाट मृत्यु भएका सबै व्यक्ति तथा आईसीयू र एचडीसीयूमा रहेका बिरामीमध्ये प्राविधिक रूपले सम्भव भएसम्म कोभिड भाइरसको ‘जीन सिक्वेन्सिङ’ गर्ने व्यवस्था मिलाउने निर्णय गरेको हो ।

बैठकले होम आइसोलेनसमा रहेका व्यक्तिबारे मन्त्रालयसहित प्रदेश र स्थानीय सरकारबाट अनुगमन गर्ने व्यवस्था मिलाउने निर्णय पनि गरेको सहसचिव शंकर नेपालले जानकारी दिए ।

उनका अनुसार बैठकमा कोभिड–१९ संक्रमणको पछिल्लो अवस्थाबारे समीक्षा गरिएको थियो । संक्रमण दर बढ्दो क्रममा रहे पनि अस्पतालमा भर्ना दर न्यून रहेको तथा कोभिडबाट मृत्यु भएका व्यक्तिको अध्ययन गर्दा अन्य गम्भीर प्रकारका रोग समेत लागेको पाइएको बैठकमा जानकारी गराइएको थियो । 

बैठकले कोभिड–१९ संक्रमितको उपचारका लागि अस्पतालमा शय्या संख्या, आईसीयू तथा भेन्टिलेटरको पर्याप्त व्यवस्था रहेकाले आत्तिनुपर्ने अवस्था नरहेको तर कोभिड–१९ प्रति अझै सतर्कता अपनाउनुपर्ने निष्कर्ष निकालेको छ ।

संक्रमणबाट बच्नका लागि जनस्वास्थ्यका सबै मापदण्डको पालन गर्न नागरिकमा अनुरोध पनि गरिएको छ । 

बैठकले सिंहदरबार एवं भीडभाड हुने सरकारी निकायमा मास्कको प्रयोग अनिवार्य गर्न आग्रह गरेको र मास्क लगाए/नलगाएको सन्दर्भमा सिंहदरबारभित्र गृह मन्त्रालयल र अन्य सरकारी निकायमा सम्बन्धित निकायका प्रमुखबाट अनुगमन गर्ने निर्णय पनि गरेको छ । 

निर्माण सम्पन्न भएका होल्डिङ सेन्टरको सञ्चालनका लागि तर्जुमा गरिएको सञ्चालन कार्यविधिको मस्यौदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा उपलब्ध गराउने निर्णय पनि गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्