
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैं आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ ।
सत्तारुढ गठबन्धनले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा तालमेल गर्ने औपचारिक निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको गठबन्धनमा आवद्ध दलहरूको बैठकले चुनावी तालमेल गर्ने औपचारिक निर्णय गरेको सञ्चारमन्त्रीसमेत रहेका नेपाली कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । चुनावी तालमेलका लागि सीट बाँडफाँटका लागि कार्यदल बनाउने निर्णय भएको छ ।
००००
परराष्ट्रमन्त्री डा नारायण खड्का आगामी मंगलवार छिमेकी राष्ट्र चीनको भ्रमणमा जाने भएका छन् । चीनका विदेश मामिलामन्त्री वाङ यीको निमन्त्रणमा उनी तीन दिने भ्रमणका लागि चीन जान लागेको पराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्री खड्का र चीनका विदेश मामिलामन्त्री वाङबीच छिङदाओमा बुधवार द्विपक्षीय वार्ता हुने छ । चिनियाँ विदेशमन्त्री वाङले खड्काको सम्मानमा बुधवार रात्रिभोजको आयोजना गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । दुई मन्त्रीबीचमा हुने छलफलको विषय भने सार्वजनिक गरिएको छैन ।
००००
निर्वाचन आयोगले मंसिर ४ को निर्वाचनका लागि दल दर्ता आह्वान गरेको छ। आयोगले प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन प्रयोजनका लागि साउन २२ देखि ३१ गतेभित्र दल दर्ताका लागि आह्वान गरेको हो ।
००००
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मङ्सीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका छन् । एमाले उपत्यका विशेष प्रदेश कमिटीले शुक्रबार मध्यपुरथिमिको बोडेमा आयोजना गरेको राजनीतिक कार्यशालामा उनले आउँदो निर्वाचनका लागि फोकस भएर लाग्न निर्देशन दिए ।
००००
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड शुक्रबार राति जापान प्रस्थान गरेका छन् । नेपाल एयरलाइन्सको विमानमा प्रमुख स्वकीय सचिव गंगा दाहाल, स्वकीय सचिव रमेश मल्ल र प्रेस संयोजक सूर्य किरणसहित प्रचण्ड जापान प्रस्थान गरेका हुन् ।
नेपाली जनप्रगतिशील मञ्च जापानको निमन्त्रणामा जापान गएका प्रचण्ड त्यहाँ हुने विभिन्न कार्यक्रममा सहभागी बन्ने कार्यक्रम रहेको छ ।
००००
सर्वोच्च अदालतले पुराना बक्यौता मुद्दा न्यूनीकरणसम्बन्धी कार्ययोजना–२०७९ लाई कार्यान्वयन गर्ने उद्देश्यले शुक्रबार पूरा समय सेवा प्रवाह गर्न प्रारम्भ गरेको छ । शुक्रबार २ः३० बजेदेखि ५ बजेसम्म मुद्दामा तोकिएको पेसीमा ६७ वटा मुद्दामा सुनुवाइ भएको र यसरी नियमतिरुपमा शुक्रबार थप समय काम गर्दा योजनाअनुरुप मुद्दामा फछ्र्योट दु्रतगतिमा हुने सर्वोच्च अदालतका प्रवक्ता बिमल पौडेलले जानकारी दिए ।
००००
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले तीन तहको शिक्षालाई जोड्न ९० दिन विद्यार्थीलाई इन्टर्न गर्नुपर्ने नीति ल्याइएको बताएका छन् । शुक्रबार विश्वविद्यालय अनुदान आयोगमा ११ विश्वविद्यालयका उपकुलपतिहरुसँगको छलफलमा स्नातक र स्नातकोत्तर तहका विद्यार्थीहरुलाई ९० दिन इन्टर्न गराउनुपर्ने नीति कार्यान्वयन गर्न निर्देशन दिए ।
००००
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले केही सञ्चारमाध्यममा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको गुप्तचरी गर्नका लागि सरकारले गुप्तचर परिचालन गरेको भनी आएको समाचार निराधार भएको बताएका छन् ।
साउन १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णय सार्वजनिक गर्न शुक्रवार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता कार्कीले भने, ‘पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको गुप्तचरी गर्न सरकारले गुप्तचर परिचालन गरेको र नागरिकको फोन ट्यापिङ गरी वैयक्तिक गोपनीयतामा हस्तक्षेप गरेको भन्ने समाचार निराधार भएको कुरा स्पष्ट पार्न चाहन्छु ।’
उनले सरकार व्यक्तिको स्वतन्त्रता र गोपनीयताको अधिकारप्रति सचेत रहेको बताउँदै कुनै भ्रममा नपर्न समेत अपिल गरे । सरकार गोपनीयताको सम्मान र सम्वद्र्धन गर्न प्रतिबद्ध रहेको उनको भनाइ छ ।
००००
पछिल्लो २४ घण्टामा मुलुकभर ९ सय १२ जनामा नयाँ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार कूल ६ हजार ४ सय ९१ नमूना परीक्षण गर्दा उक्त संख्यामा नयाँ संक्रमित थप भएको जानकारी दिएको छ ।
००००
नेपाल बैंकर्स संघको शुक्रवार बसेको बैठकले तत्काल ब्याजदर नबढाउने निर्णय गरेको छ । नेपाल राष्ट्र बैैंकले साउन पहिलो साता सार्वजनिक गरेको मौद्रिक नीतिले बैंकदरलाई ७ प्रतिशतबाट बढाएर ८.५ प्रतिशत बनाएको र संस्थागततर्फ मुद्दती निक्षेपको ब्याजदर व्यक्तिगत भन्दा २ प्रतिशत विन्दुले कम बनाउनुपर्ने ब्यवस्था गरेको छ । यो व्यवस्थापछि वाणिज्य बैंकहरूको ब्याजदर बढ्ने अनुमान गरिएको भए पनि बैंकहरूले भने तत्काललाई नबढाउने निर्णय गरेका छन् ।
००००
नेकपा एमाले०का नेता डा भीम रावलले विपरीत सिद्धान्त भएका दलहरूले निर्वाचनमा तालमेल गर्नु संविधानविपरीत भएको बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित एक अन्तरक्रियामा नेता रावलले गठबन्धनमा आवद्ध राजनीतिक दलहरूको आ–आफ्नो सिद्धान्त भएकाले तालमेल गर्नु संविधानविपरीत हुने बताएका हुन् । जनताको मत निश्चित विचारधारा, दर्शन र कार्यक्रमका आधारमा लिने संवैधानिक व्यवस्था भएको दाबी गर्दै नेता रावलले विपरीत सिद्धान्त भएका राजनीतिक दलहरूले तालमेल गर्नु गलत भएको बताए ।
००००
जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय समिति अध्यक्ष अब एक जना मात्र रहने भएको छ । जसपाले यसअघि केन्द्रीय समितिमा दुई जना अध्यक्ष रहने गरी बनाइएको अन्तरिम विधान संशोधन गर्ने निर्णय गरेको छ ।
अन्तरिम विधानमा ‘केन्द्रीय समितिको दुई अध्यक्षबीच कार्य विभाजन गरी केन्द्रीय समितिको अध्यक्षको हैसियतमा पार्टी कामको नेतृत्व गर्ने’ भन्ने वाक्यांशबाट ‘दुई अध्यक्षबीच कार्य विभाजन गरी’ भन्ने हटाउने गरी विधान संशोधन गर्ने निर्णय गरिएको सो पार्टीले जनाएको छ ।
००००
नेपालमा बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउने र नेपालीलाई विदेश भ्रमणको प्रबन्धन गर्ने लक्ष्यका साथ गुरु ट्राभल्स लिमिटेड स्थापना गरिएको छ । पहिलो पब्लिक लिमिटेड ट्राभल्स कम्पनी दाबी गरिएको ट्राभल्सले नेपालको पर्यटनलाई अझै सबल बनाउँदै पर्यटनको लाभ आम नेपालीसम्म र्पुयाउने लक्ष्य लिएको छ । काठमाडौँको दरबारमा कार्यालय रहेको उक्त ट्राभल्सको शुक्रबार एक कार्यक्रमबीच ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले उद्घाटन गरिन् ।
००००
जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त (सीके) राउत सप्तरीको संसदीय क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाको चुनाव लड्ने भएका छन् । जनमत पार्टीको केन्द्रीय समिति बैठकले उनी उक्त क्षेत्रबाट लड्ने औपचारिक निर्णय गरेको छ ।
००००
मोहन वैद्य नेतृत्वको नेकपा कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) र धर्मेन्द्र बास्तोला नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (बहुमत) बीच एकता हुने भएको छ । यी दुई पार्टीको एकताका लागि शुक्रवार अध्यक्षद्वय वैद्य र बास्तोलाबीच सहमति भएको नेकपा क्रान्तिकारी माओवादीले जनाएको छ ।