२३ असार २०८३, मंगलबार
मानव सेवा

अविवाहित मातृशक्ति : सहाराविहीनलाई खाना, नाना र छाना पुर्‍याउनमै जीवन समर्पित

साउन २१, २०७९
अविवाहित मातृशक्ति : सहाराविहीनलाई खाना, नाना र छाना पुर्‍याउनमै जीवन समर्पित

रूपन्देहीको देवदहकी सरू अधिकारीको बुटवलमा १४६ सदस्यीय परिवार छ । अविवाहित सरू वृद्धवृद्धादेखि साना बालबालिकाकी अभिभावक/अभियान्ता हुन् ।

मानव सेवा आश्रम लुम्बिनी प्रदेश संयोजक अधिकारी सडकबाट उद्धार गरेर आश्रमसम्म ल्याइएका असहाय मानिसको खानपिनदेखि औषधोपचारसम्मको सम्पूर्ण सेवामा तल्लिन छिन् ।

पढाइमा स्नातकोत्तर देवदह नगरपालिका–४ भवानीपुरकी सरूलाई बुटवल उपमहानगरपालिका–८ सुख्खानगरस्थित मानव सेवा आश्रम नै आफ्नो सुखी परिवार लाग्छ । उनी भन्छिन्, ‘मेरा बुवाआमा, छोराछोरी सबै यहीँ छन् ।’

झण्डै ५ वर्षअघि सडक बालबालिकाको स्वास्थ्य अवस्थाबारे ‘रिसर्च’मा जुटेकी थिइन् उनी । त्यही बेला विक्रम संवत् २०७५ सालमा मानव सेवा आश्रमले बुटवलमा आफ्नो शाखा स्थापना गरी सडक मानवहरूलाई उद्धार गरी सेवा थाल्यो । त्यसपछि अधिकारीको जीवन यात्राले नयाँ मोड लियो । अहिले बेवारिसेलाई सहारा दिएर उनीहरूको सेवामा लाग्नु उनको जीवनको लक्ष्य भएको छ ।

‘मैले २०७६ सालमा शिक्षक सेवा आयोगबाट स्थायी शिक्षकमा नाम निकालें,’ सरू भन्छिन्, ‘मैले त्यो सरकारी जागिरभन्दा बुवाआमाको सेवा ठूलो ठानें । सरकारी जागिरबाट राजीनामा दिएर पवित्र मनले २४ घण्टै ‘भोलिन्टियर’ रूपमा आश्रमसँग जोडिएर बेसहाराको सेवामा रमाएँ । मानव सेवा नै ठूलो धर्म हो । हामी मानवता प्रवर्द्धन महाअभियानमा जुट्नुपर्छ ।’

सडकमा घाइते, मानसिक सन्तुलन गुमाएका र परिवारबाट हेला भएर सडकमा आइपुगेका स्वार्थी व्यवहारले समाजसेवामा लाग्न प्रेरित गरेको उनले बताए । सरू सहितको मानव सेवाको टीमले बुटवल, भैरहवा लगायत रूपन्देहीका धेरै ठाउँमा सडक मानवहरूलाई उद्धार गरेर सेवा दिएको छ ।

उद्धार गरेकाहरू केहीलाई पारिवारिक पुनर्मिलन समेत गराएको उनले बताइन् । सरू भन्छिन्, ‘पुनर्मिलन गराइएका पनि परिवारलाई सहज रूपमा स्वीकार नगर्दा पुनः सडकमै आएका घटना पनि छन् ।’ २८ वर्षीया सरूले आफ्नो जीवनभन्दा सहयोगापेक्षी मानव सेवा नै जीवन ठानेकी छन् ।

काभ्रेको धुलिखेल नगरपालिका–१२ की संजीता गौतमको सुर्खेतको वीरेन्द्रनगरमा ७० सदस्यीय परिवार छ । आश्रमकी २ वर्षकी साधनादेखि ९० वर्षका नरबहादुर घर्ती उनका परिवारका सदस्य हुन् । व्यवस्थापनमा स्नातक गरेकी २५ वर्षीया संजीता विगत ७ वर्षदेखि मानव सेवा आश्रमसँग जोडिएर समाज सेवामा लागेकी छन् । उनको काँधमा सहयोगापेक्षीको जिम्मेवारी छ । मानव सेवा आश्रम कर्णाली प्रदेश संयोजक संजीताले सहाराविहीनको सेवामा आफ्नो जीवन समर्पित गरेकी छन् ।  

‘आश्रममा आएका बुवाआमादेखि बालबालिका सामान्य भएर मुस्कुराउँदा जीवनमा सबथोक पाएजस्तो लाग्छ,’ संजीता भन्छिन्, ‘सडक मानवहरूको उद्धार गरी उनीहरूको सेवा गर्न आफैंमा कठिन हो । जीवनको सबैभन्दा खुशी आत्मसन्तुष्टि रहेछ, म यसैमा खुशी छु । सडक मानवको जीवनमा परिवर्तन ल्याउँदा सबैभन्दा ठूलो सन्तुष्टि मिल्छ ।’

सडकमा बेसहारा भएर बसेका मानवहरूलाई खोजीखोजी उद्धार गर्ने, आश्रममा लैजाने, उपचारको खाँचो रहेकाहरूलाई उपचारको व्यवस्था गर्ने काम गौतम सहितको मानव सेवाको टीमले गरिरहेको छ ।

उनी भन्छिन्, ‘सडकबाट उद्धार गरी परिवारसँग पुनर्मिलन गराएकाहरू पनि सडकमा फर्किनुभएको छ । परिवारसँग मिल्न नसक्दा पुनः सडकमा आएकाहरूलाई पनि उद्धार गरेका छौं ।’ गौतमले आफ्नो जीवन बेसहारालाई सहारा दिनमा समर्पित गरेको ठानेकी छन् । उनी भन्छिन्, ‘मैले आफ्नो व्यक्तिगत जीवनबारे केही सोचेकी छैन । अबको मेरो जीवन बेसहाराको सहारामा रहेको छ । आश्रमका बुवाआमाको सेवा गर्न पाउँदा संसार नै जितेको अुनुभूति हुन्छ ।’

कर्णालीसँगै नेपालगञ्जमा रहेको आश्रम पनि हेर्दै आएकी छन् उनले । सुर्खेतको आश्रमको भाडा वीरेन्द्रनगर नगरपालिकाले तिरिदिन्छ । राज्यले गर्ने काम मानव सेवा आश्रमले गरेको छ । ‘हामीलाई सरकारको तर्फबाट करीब २५ प्रतिशत मात्र सहयोग छ । बाँकी आश्रम चलाउन विभिन्न सहयोगी मन र मुठीदानबाट नै चलेको छ । आश्रमका बुवाआमा र भाइबहिनीलाई हालसम्म आर्थिक अभाव नभएको गौतम बताउँछिन् । 

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ की सुशीला केसी ‘रूपा’ पनि मानव सेवा आश्रमसँग जोडिएर सेवामा जोडिएको लामो समय भइसक्यो । उनी हेटौंडामा रहेको मानव सेवा आश्रम र बुटवल आश्रममा सेवारत छिन् । उनी भन्छिन्, ‘कहिले बुटवल, कहिले हेटौंडा हुन्छ । मानव सेवा नै जीवन ठानेर यसैमा जोडिए ।’

उनी मानव सेवा आश्रम लुम्बिनी प्रदेशको प्रमुख हुन् । लुम्बिनी प्रदेशमा मानव सेवा बुटवल, दाङ र नेपालगञ्जमा ३ वटा शाखा छन् । ‘मानव सेवाले शुरू गरेको साँचो जीवन निर्माण अभियानबाट प्रेरित भएर यो क्षेत्रमा लागें,’ रूपा भन्छिन् । 

हेटौंडाकै सिर्जना वली अहिले नेपालगञ्जको मानव सेवा आश्रममा सेवारत छिन् । हेटौंडा–५ की २७ वर्षीया वलीले २०७१ सालदेखि मानव सेवा आश्रममा जोडिएर काम गर्दा उनले आफ्नो साथी आफैं रहेछ, अरू भनेका त घामछाँया रहेछन् भन्ने बुझेकी छन् ।

नेपालगञ्जको आश्रममा उनीसँग २५ जना बुवाआमा छन् । स्नातकोत्तर गर्दै गरेकी वलीलाई सेवामै जीवन अर्पण गर्न सकिन्छ भन्ने लागेर आफ्नोभन्दा दिनदुःखीको सेवा गर्नतिर तम्सिएकी छन् ।

उनी भन्छिन्, ‘परिवारमा पनि केही गर्न सक्ने समयसम्म प्यारो हुने रहेछ । केही गर्न नसक्ने भएपछि मानिस सडकमा आउने रहेछन् । एक जुनीमा पाएको सुन्दर जीवनलाई आफ्नो लागि मात्रभन्दा अरूको लागि पनि केही गरेर सुन्दर बनाउन सकिन्छ । हेर्दै जाउँ, कहिलेसम्म सेवा गर्न सकिन्छ ?’

अविवाहित उनले पनि आफ्नो जीवनबारे हालसम्म केही सोचकी छैनन् । ‘जुनसुकै कारण र पृष्ठभूमिबाट आए पनि खाना, नाना र छानाकै लागि कुनै पनि मानवले अभाव भोग्नु नपरोस् भन्ने मनसायले अभियानमा लागेकी हुँ,’ सिर्जना भन्छिन् ।

सडकमा नारकीय जीवन बिताउन बाध्य मानिसको सेवामा लागेका मानव सेवाको काम उदाहरणीय छ । मानव सेवा आश्रम विक्रम संवत् २०७३ सालमा ‘सबैका लागि खाना, नाना र छाना’ उद्देश्यका स्थापना भएको संस्था हो । 

खुला आकाशमुनि सडकपेटी एवं सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी (अनाथ, अपाङ्ग, अशक्त, असहाय एवं मनोरोगी) मानवहरूको सेवा गर्ने उद्देश्यले मकवानपुरको हेटौंडाबाट शुरू भएको संस्था हो मानव सेवा आश्रम । आश्रमले देशभरका सहयोगापेक्षीलाई नाना र छाना दिँदै आएको छ । संस्थाका संस्थापक अध्यक्ष रामजी अधिकारी हुन् । उनीसँगै देशभरका युवाहरू जोडिएर सेवामा जुटेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्