
२ महिनादेखि काठमाडौंको सडकमा फोहर थुप्रिँदा नागरिकलाई आवतजावत गर्न समेत समस्या भएको छ ।
बाटो मर्मतको कारण देखाउँदै काठमाडौं महानगरपालिका र अन्य निजी क्षेत्रले समेत नियमितरूपमा फोहरको अन्तिम व्यवस्थापनको काम नगर्दा सडकमा जताततै फोहर देखिन थालेको हो ।
विशेषगरी काठमाडौंका मुख्य सडक कलंकी, कालीमाटी, टेकु, अनामनगर, बानेश्वर, थापागाउँ, कोटेश्वरलगायत स्थानका सडकमा लामो समयदेखिको फोहरको थुप्रो हुँदा समस्या आएको छ ।
कामपाले सिसडोलबाट बञ्चरेडाँडासम्म जाने सडक मर्मतको काम पूरा नभएकाले साविक बमोजिम फोहर व्यवस्थापन हुन नसक्दा काठमाडौंको मुख्यचोकमा फोहर थुप्रिन थालेको जनाएको छ । साउन ४ गते काठमाडौं महानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै सडक मर्मतको काम गर्नुपर्ने भएकाले १ हप्ताका लागि घर बाहिर फोहर ननिकाल्न आग्रह गरेको थियो ।
१ हप्ताको समयमा पनि सडक मर्मतको काम पूरा नभएपछि सबै सवारीसाधन चलाउन कठिन भएकाले फोहर व्यवस्थापनमा समस्या भएको कामपाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । बाटो मर्मतको काम सम्पन्न गर्न अझै समय लाग्ने भएकाले कही दिन सबै स्थानको फोहर व्यवस्थापन गर्न कठिन हुने उनको भनाइ छ ।
बञ्चरेडाँडाका स्थानीयले सम्झौताअनुसार काम नभएको भन्दै आगामी भदौ १ गतेदेखि फोहर व्यवस्थापन गर्न नदिने चेतावनी दिएका छन् । समयमा नै सडक मर्मतको काम नगरेको, फोहर बोक्ने गाडीमा (लिचड ट्यांकी) फोहरको लेदो रहने भाँडो व्यवस्था नगरिएको, स्थानीयको स्वास्थ्य बीमा, शिक्षाको प्रत्याभूतिजस्ता विषयबारे बेवास्ता गरिएको भन्दै स्थानीयले फोहर व्यवस्थापन गर्न नदिने चेतावनी दिएका छन् ।
कामपाले बञ्चरेडाँडाका स्थानीयको माग सम्बोधनको चरणमा रहेको जनाउँदै उपत्यकाको कुहिने फोहर यही व्यवस्थापन गर्नका लागि स्थान पहिचानको काम गरिरहेको जानकारी दिएको छ । त्यसका लागि उपत्यकाको अन्य नगरपालिकासँगको सहकार्यमा जग्गा पहिचानको काम भइरहेको बताइएको छ ।
यसअघि हरेक दिन उपत्यकाबाट १ हजार २०० मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन गरिँदै आएको थियो । सबैभन्दा बढी कामपामा ५०० मेट्रिक टन फोहर निस्कने गर्दछ । उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करिब ७५ प्रतिशत स्थानमा व्यवस्थापन गरिँदै आएको थियो ।