
सायद तपाईं घुम्न मन पराउनुहुन्छ । कति ठाउँ घुमी पनि सक्नुभएको होला । तर, घुमेको ठाउँहरू मध्ये खुम्बु क्षेत्रको गोक्यो घुम्न जान छुटाउनु भएको छ भने जाने तयारी गर्नुहोस् । गोक्योको सुन्दरताको आनन्द नलिई तपाईंको कुनै पनि घुमघाम पूरा हुन सक्दैन ।
तत्काल जाने मौका मिलेको छैन भने, तपाईंलाई म फोटो कथाबाट गोक्यो घुमाउँछु । गोक्यो पुगिसक्नेहरूलाई स्मृतिका रमाइला क्षणलाई फेरि पुनःताजकी गराउँछु । गोक्यको बिहान, दिउँसो र साँझको समयमा सेताम्मे हिउँसँग देखिने फरक–फरक रंगहरू देखाउँदै छु । फोटो कथामा ।
गोक्यो प्रदेश एकको सोलुखुम्बु जिल्लामा अवस्थित ताल हो । सगरमाथा राष्ट्रिय निकुञ्जभित्र रहेको यो ताल समुन्द्र सतहबाट ४ हजार ७ सय देखि ५ हजार मिटर उचाइमा रहेको छ ।
यस क्षेत्रमा ६ वटा मुख्य तालहरू रहेका छन, यी तालहरू विश्वमै अग्लो स्थानमा पाइने ताजा पानीको तालहरूमध्ये पर्छन् । यी तालहरूमध्ये थोनाक ताल सबैभन्दा ठूलो ताल हो । सन् २००७ देखि गोक्यो ताल रहेको ७ हजार ७ सय ७० हेक्टर क्षेत्रलाई रामसार क्षेत्रको रूपमा घोषणा गरिएको छ ।

विश्वको सर्वोच्च शिखर सगरमाथा, नेपालीको गौरव–गाथासँगै जोडिएको छ यस तालको परिचय । सगरमाथा पदमार्गको बाटो भएर यो ताल पुग्न सकिन्छ । सगरमाथाको आधार शिविरसम्मको पदयात्रामा आउने पर्यटकहरू प्रायःले यो तालको यात्रा गर्न छुटाउँदैनन् । त्यसैले सगरमाथा आधार शिविरपछि पर्यटक पुग्ने दोस्रो गन्तव्य हो, गोक्यो ताल । सर्वोच्च शिखर सगमाथाको काखमा अथाह सुन्दरताका अनुपम उपहारले भरिपूर्ण छ खुम्बु क्षेत्र । त्यसको साक्षी बन्नलाई कुइनेटो परेर हिमालको काखमा सलबलाई रहेको गोक्यो ताल । हिउँदमा हिउँसँग लुकामारी खेल्दै आफूलाई ढपक्क छोप्छ, हिउँले बनाएको बडेमानको भिककाय हिउँको डल्लालाई आफ्नै काख र छातीमा छचल्लकाउँछ ।
सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा सगरमाथासहित ६ हजार मिटरभन्दा अग्ला हिमचुचुराहरू रहेकोले यसको गौरव बढाएको छ । ती सेताम्मे हिमालका काप–कापबाट हिउँ पग्लेर हिमालका काख–काखमा बनेका हिमतालहरूले प्राकृतिक सौन्दर्यताको सुगन्ध बनेर पर्यटकलाई आफूतिर तानिरहेको छ । यही हिमाल र हिमताल हेर्न विश्वका मनिसहरू नेपाल आउने गर्छन् । त्यसमध्येको गोक्यो ताल पनि धेरैको रोजाइमा पर्ने पर्यटकीय गन्तव्य हो । त्यसैले यस तालमा पर्यटकीय आनन्द लिन हजारौँको संख्यामा वर्षेनी पर्यटकहरू आउने गर्दछन् ।

पर्यटकीय गन्तव्यको साथै यस ताललाई धार्मिक स्थलको रूपमा पनि मान्ने गरिन्छ । विशेषगरी हिन्दू र बौद्ध धर्मावलम्बीहरूले यो ताललाई पवित्र स्थलको रूपमा मान्ने गर्दछन् । वर्षमा एक पटक जनैपूर्णिमाका दिन यस तालमा मेला लाग्ने गर्दछ । हिन्दू र बौद्ध समुदायमा मानिसहरूले यसदिन तालमा स्नान गर्ने परम्परा रहेको छ ।
हिमाली क्षेत्रमा बौद्ध धर्ममार्गीहरूको बहुल्यता रहे पनि यो ताललाई हिन्दू र बौद्ध धर्मका दुवै सम्प्रदायले आफ्नो आस्थाको धरोहरका रूपमा मान्ने गर्दछन् । यो तालको दक्षिणपट्टि हिन्दू देवता शिव तथा विष्णुको मन्दिर रहेको छ जहाँ हजारौँ श्रद्धालु आउने गर्छन् । यो ठाउँ विशेष नाग देवताको लागि प्रसिद्ध रहेको छ ।

उचाइमा रहेको गोक्यो पर्यटकहरूको लागि सबैभन्दा मनोरन्जक गन्तब्य हो । नाम्चे बजारदेखि यस ठाउँ पुग्न पाँच दिन पैदल हिँडेर पुग्न सकिन्छ ।
खुम्जुङदेखि सगरमाथा आधारशिविर र गोक्यो ताल जाने बाटो फरक छ । ‘हामी गोक्यो तालतर्फ लाग्यौँ ।
हाम्रो यात्रा वैशाख महिनामा भएको थियो । यस क्षेत्रमा वैशाख महिनामा खासै हिउँ पर्ने गर्दैन । तर, हाम्रो यात्राका क्रममा अत्याधिक हिउँ परेको थियो ।
हिमाली क्षेत्रको यात्रामा मौसम सफा नभएर वा हिउँ पर्दा यहाँका हिमनदी र हिमालहरू राम्रोसँग देख्न सकिँदैन । मौसम खुलेन र बादल लाग्यो भने बादलको घुम्टोभित्र सबै हराउँछ । तर, हामीलाई मौसमले साथ थियो । लगातार दुई दिनसम्म परेको हिउँले हाम्रो यात्रालाई रोमान्चित बनायो ।

हाम्रो गन्तव्य गोक्यो तालमा सेताम्मे हिउँको बीचमा छचल्किएको थियो । हिउँ परेकोले गर्दा गोक्यो ताललाई पनि हिउँले ढपक्कै ढाकेको थियो हामी पुग्दा । ताल र तालका वरिपरी सेताम्मे हिउँ । सेताम्मे हिउँको बीचमा यसरी गोक्योलाई नियाल्ने अवसर थोरै पर्यटकहरूले मात्र पाउँछन् । मौसमले साथ दियो त्यसैले हामीले हेर्न पायौँ । बिहानको सूर्याेदय र साँझ सूर्य अस्ताउने समयमा गोक्यो तालको दृश्य अति नै मनमोहक हुन्छ ।
हिमाल, हिउँ र ताल सेताम्मे हिउँसँगै बिहानीको झुल्के घाम, मध्याह्नको चर्को घाम र साँझको सुनौलो किरणसँगै आफूलाई परिवर्तन गर्ने गोक्योले गोप्य राख्न सकेन हाम्रो अगाडि आफ्नो बहुरीपी सुन्दरतालाई । सूर्यको प्रकाशसँगै हिमाललाई आफ्नो गर्भमा प्रबिम्बित गर्ने गोक्यो दिनको समय चक्रसँगै पानीको रंग पनि बदल्न सक्ने रहेछ ।

गोक्यो तालको चारैतिर सेता हिमालहरूले घेरिएको, बीचमा नीलो गहिरो ताल, तालको बीचमा हिउँको टापु, त्यही प्रेममा विलिन सुन्दर हाँसका जोडीहरू तैरिरहेको मनमोहक दृश्य । तालको एक कुनामा अवस्थित सुन्दर होटल तथा रिसोर्टहरूले सबै पर्यटकको मन तान्छ ।
यहाँको होटलमा बसेर तालको सुन्दरतामा हराइरहँदा ताललाई नै अतिक्रमण गरी बनाएका केही होटलहरूको दृष्यमा मेरो आँखा ठोक्किदा मन त्यसै त्यसै अमिलिएर आयो । ताललाई देखाएर व्यवसाय चलाउनेले बुझ्नैपर्छ तालको महत्व र यसको संरक्षणको दायित्व । अतिक्रमणले कुनै व्यक्तिलाई फाइदा होला तर तालकै पानीमा छुवाएर बनाएका भौतिक संरचनाले कालान्तरमा तालको सौन्दर्यता, आस्था मात्र घटाउँदैन प्रदूषण गराउने कुरामा कति पनि शंका छैन । त्यसैले तालको सुन्दरतामा व्यावसाय गर्नेहरूले तालको संरक्षण र सम्मान गर्नुपर्दछ भन्न मलाई कति पनि हिचकिचाहट छैन ।

गोक्यो तालले प्रकृतिक सुन्दरतामा रमाउनेलाई आनन्दको चरम उत्कर्षको सुखानुभूति दिलाउन सक्छ । तपाईं कल्पनामा स्वर्ग पुग्नु भएको छ ? यदि छ भने गोक्यो तालले धर्तीमै वास्तविक जीवनमा स्वर्गीय आनन्दको आभास दिलाउन सक्छ ।
यहाँसम्म पुग्दा लामो पैदल यात्रा पार गर्नु पर्ने भएकोले पक्कै थकान र उचाइका कारण शारीरिक तथा मानसिक समस्याहरू आउन सक्छन । जब त्यहाँ पुगेर देखिन्छ सुन्दर ताल, सेता हिमाल र नीला आकाशको समागम, दृष्य हेर्दै एकान्त भ्यालीमा आफूलाई पाएपछि सारा यात्राको थकान प्राकृतिक सौन्दर्यको अगाडि बिल्कूल फिक्का हुन्छ ।

सन १९७९ देखि यस राष्ट्रिय निकुञ्जलाई विश्व सम्पदा सूचीमा समावेश गरिएको छ भने मध्यवर्ती क्षेत्रको घोषणाबाट निकुञ्जभित्र र वरपरका जनता प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् । पर्यटनको विकासबाट यहाँका बासिन्दाहरूको आर्थिक विकासमा ठूलो टेवा पुगेको छ ।
यात्रामा क्रममा भेटिएका स्थानीयहरू विगतभन्दा अहिले खोलाहरूमा पानीको बहाव पनि निकै बढेकोे अनुभव सुनाउँछन् । हिमालमा पहिले जस्तो हिउँ देख्न पाइँदैन, मौसमको पनि भर हुँदैन भनेर चिन्ता प्रकट गर्दछन् । उनीहरू यसरी हिमालको हिउँ पग्लँदै पानी भएर सबै बगेर गए हिमालको अवस्था कस्तो होला भनी चिन्तित छन ।

पहिलेजस्तो हिमालमा हिउँ छैन, कालो चट्टान देखिन थालेको स्थानीयहरूको भनाइ छ । उनीहरूको भनाइलाई पुष्टि गर्ने गरी हामी आफैँले हेर्दा पनि देखिन्छ हिमालको दूरावस्था । यस्तो अवस्था आउनुलाई वातावरणविद्हरू जलवायु परिवर्तनलाई कारण मान्छन् । जलवायु परिवर्तनको पहिलो असर हिमाली क्षेत्रलाई परेको छ ।
हिमालहरू कालो चट्टानमा परिणत हुँदैछन्, हिमाली क्षेत्रमा हिमतालको संख्या बढेको छ, हिमताल र हिमनदीहरूमा पानीको सतह बढेको छ । हिमालको उचाइसँग नेपालीले साट्ने गौरव यसरी हिउँसँगै पग्लदै गए के होला हाम्रो अवस्था भन्ने कुराले मेरो मनमा यात्रा अवधिभर पिरोल्यो । अहिले पनि पिरोलिरहेको छ ।
सगरमाथा प्रवेश गर्ने एक मात्र माध्यम काठमाडौंदेखि लुक्लासम्म हवाई मार्ग हो । काठमाडौंदेखि जिरी हुँदै सुर्के र अर्काे काठमाडौंदेखि सल्लेरी, खरी खोला हुँदै सुर्केसम्म जीपमा जान सकिन्छ । त्यसपछि लुक्ला हुँदै सगरमाथा जान सकिन्छ ।















