०१ असार २०८३, सोमबार

काठमाडौं उपत्यकाकाे फोहोर बोकेका १४ टिपरमा अज्ञात समूहद्वारा तोडफोड

काठमाडौं उपत्यकाकाे फोहोर बोकेका १४ टिपरमा अज्ञात समूहद्वारा तोडफोड
फाइल तस्वीर

काठमाडौं उपत्यकाबाट फोहर लिएर नुवाकोटको बन्चरे डाँडातर्फ जाँदै गरेको टिपरमा अज्ञात समूहले तोडफोड गरेको छ । उपत्यकाको फोहर बोकेर बन्चरे डाँडातर्फ जाँदै गरेको १४ वटा टिपरमा अज्ञात समूहले तोडफोड गरेको प्रहरीले जनाएको छ । 

त्यस्तै उक्त समूहले सडक मर्मतमा प्रयोग गरिएका ३ वटा डोजरमा समेत तोडफोड गरेका छन् । 

यसअघि स्थानीयवासीले काठमाडौं उपत्यकाले आफूहरूसँगको सहमति कार्यान्वयन नगरेको भन्दै फोहर व्यवस्थापनमा अवरोध गर्ने चेतावनी दिँदै आएका थिए । स्थानीयबासीले उपत्यकाको फोहरले आफूहरूको स्वास्थ्यमा प्रतिकूल असर पारेको भन्दै विरोध गर्दै आएका थिए । 

सडक मर्मतलगायतका माग राख्दै धुनीबेँसी गाउँपालिका–१ का बासिन्दाले पनि केही दिनयता फोहोर लैजान रोकेका थिए । त्यस्तै, मानवबस्तीलाई फोहोरमैलाबाट अलग गर्ने सहमति कार्यान्वयन नगरिएको भन्दै बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले भदौ १ बाट फोहोर फ्याक्न नदिने चेतावनी दिएको थियो । 

काठमाडौं उपत्यकाको फोहर हाल बन्चरे डाँडामा व्यवस्थापन गरिँदै आएको छ । यसअघि सिसडोलमा व्यवस्थापन गर्ने गरिएकोमा बन्चरे डाँडामा ल्याण्डफिल्ड साइट निर्माण कार्य सकिएपछि गत जेठबाट त्यहाँ फोहर व्यवस्थापन गर्न थालिएको थियो । सरकारले १७ वर्ष लगाएर बन्चरे डाँडामा ल्याण्डफिल्ड साइट निर्माण गरेको थियो । 

बन्चरे डाँडामा फोहर व्यवस्थापन शुरू भएपछि उपत्यकाको फोहर व्यवस्थापनमा समस्या नहुने अपेक्षा गरिएको थियो । तर, स्थानीयवासीले विभिन्न माग राख्दै पटक–पटक अवरोध गर्दै आएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्