
पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपालका चिया उद्योगलाई मार पर्ने प्रस्ताव भारतीय संसद्मा प्रवेश भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलवार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी नेकपा एकीकृत समाजवादीका सम्मानित नेतासमेत रहेको खनालले यसबारे कूटनीतिक तवरबाट पहल गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
भारतले अहिलेसम्म नेपालबाट जाने चियामा कर लगाएको थिएन । तर, हालै नेपाली चिया उद्योगले भारतबाट प्राप्त भइरहेको सुविधालाई कटौती गर्ने गरी भारतको संसदीय टिमले प्रस्ताव पेश गरेको उनको भनाइ छ । संसदीय समितिले नेपाली चिया गुणस्तरहीन भएको प्रतिवेदन भारतीय संसदमा बुझाएको थियो । उक्त प्रतिवेदनका आधारमा भारतले नेपालको चियामा प्रतिबन्ध वा कर लगाउनसक्ने उनको दाबी छ ।
नेता खनालले भारतीय संसद्मा पेश भएको प्रतिवेदनका सम्बन्धमा उचित कदम चाल्न सरकारको ध्यानाकर्षण गराए । यदि भारतले हाल दिइरहेको सुविधा कटौति गरेमा नेपालका चिया उद्योगहरूले मार खेप्नुपर्ने उनको भनाइ छ ।
भेटमा प्रधानमन्त्री देउवाले आफू यस विषयमा गम्भीर रहेको बताएको खनालले जानकारी दिए । प्रधानमन्त्री देउवाले यस सम्बन्धमा तत्काल पहल थाल्ने आश्वासन दिएको उनले बताए ।