कार्तिक ४ गतेका लागि प्रदर्शन मिति तय गरिएको चलचित्र ‘दुई नम्बरी’को प्रदर्शन मिति हेरफेर भएको छ । निर्माणपक्षले पूर्वनिर्धारित मितिको दुई साताअगाडि चलचित्र प्रदर्शनमा ल्याउने भएको हो ।
चलचित्रका प्रस्तुतकर्ता किरण नेपालीले अब चलचित्र असोजको २१ गते अर्थात दशैंको टीकाको दुई दिनपछि रिलिज हुने जानकारी दिए । वितरकसँग सल्लाह गरेर नै आफूले असार २१ गते खाली रहेको मितिमा चलचित्र रिलिज गर्न लागेको उनले बताए ।
‘छ माया छपक्कै’ फ्रेम्ड निर्देशक दीपेन्द्र लामाको निर्देशनमा तयार भएको चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी र उगेन छोदेन मुख्य भूमिकामा छन् । २ साथीको मित्रताको कथामा यो चलचित्र निर्माण भएको हो ।
सरोज नेपाली कार्यकारी निर्माता रहेको चलचित्रमा मिठु तामाङ्नी सह–निर्माताको रूपमा छिन् । चलचित्रमा दीपक मनाङ्गे, अमलादेवी राई र जयश श्रेष्ठ निर्माताको रूपमा छन् ।
‘दुई नम्बरी’ कार्तिक ४ बाट असोज २१ मा आएसँगै अब कार्तिक ४ मा चलचित्र ‘के घर के डेरा’ले सोलो रिलिजको अवसर पाएको छ ।