
विराटनगरमा विद्यालय नाटक महोत्सव हुने भएको छ । आरोहण–गुरुकुल विराटनगरको आयोजनामा भदौ २२ देखि ३१ गतेसम्म विराटनगर विद्यालय नाटक महोत्सव हुन लागेको हो ।
हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा हुने उक्त महोत्सवमा १० वटा नाटक मञ्चन गरिनेछ । विराटनगर तथा आसपासका ९ विद्यालयका ९ नाटक तथा आयोजकको एउटा नाटक मञ्चन गरिने अध्यक्ष भैरव क्षेत्रीले जानकारी दिए ।
पाठ्यक्रममा समावेश वा शिक्षक÷विद्यार्थीले लेखेका १ घण्टा अवधिका नाटक शिक्षक÷विद्यार्थीले नै निर्देशन गरेर महोत्सवमा मञ्चन गरिनेछ । जसमा अभिनय गर्ने कलाकार पनि विद्यालयमा अध्ययन गरिरहेको विद्यार्थी नै हुनुपर्नेछ ।
नाटक तयार पार्न सहजीकरण र प्राविधिक सहयोग आरोहण गुरुकुलले गर्ने अध्यक्ष क्षेत्रीले बताए । इच्छुक विद्यालयले आगामी भदौ ५ गतेसम्ममा आरोहणसँग सम्पर्क गर्नुपर्नेछ । सहभागी हुन चाहने विद्यालयले आरोहणको वेबसाइट अथवा सामाजिक सञ्जालमा उपलब्ध गराएको फारम भरेर विद्यालयले सहभागिताका लागि आवेदन दिन सक्नेछन् ।
महोत्सवले विद्यालय, विद्यार्थी र रंगमञ्चलाई जोड्ने आयोजकले अपेक्षा गरेको छ । गुरुकुलले यसअघि ०७६ सालमा विद्यालय नाटक महोत्सव पहिलो पटक आयोजना गरेको थियो । त्यसयता कोरोना महामारीले आयोजना हुन सकेको थिएन ।
१० दिनको महोत्सव अवधिभर २ हजार भन्दा धेरै विद्यार्थीको प्रत्यक्ष÷अप्रत्यक्ष सहभागिता हुने अपेक्षा आरोहणले गरेको छ ।