
डाक्टर गोविन्द केसीले इलामबाट स्वास्थ्य सेवा शुरू गरेका छन् । इलाम अस्पतालमार्फत उनले हाडजोर्नीको सेवा दिन शुरू गरेका हुन् । सोमवारदेखि उनले २० दिनसम्म नियमित सेवा प्रवाह गर्ने जनाइएको छ ।
शहरमा भएका ठूला अस्पतालमा ग्रामीण क्षेत्रका जनताको उपचारमा अझै पनि पहुँच नभएका कारण आफू इलाममा आएर सेवा दिन थालेको उनले बताए । उनले दैनिक ५० जनासम्म बिरामी हेर्ने भनिए पनि धेरै बिरामीको चाप बढेपछि अबेरसम्म बिरामी जाँच गरिरहेको अस्पतालले जनाएको छ ।
इलाम अस्पतालले उनलाई उपचारमा आवश्यक सहयोग गर्ने अस्पतालका व्यवस्थापक क्षितिज खतिवडाले बताए । यसअघि डाक्टर केसी ताप्लेजुङमा गएर बिरामीको उपचार गरेर आएका थिए । करिब २७ वर्ष शिक्षण अस्पतालमा काम गरेका केसीले तीन दशकभन्दा बढी समय स्वास्थ्य क्षेत्रमा योगदान गरेका छन् ।