बाँकेको राप्तीसोनारी गाउँपालिकाको मदुवाघाटमा पक्की पुल निर्माण भएपछि आवागमनमा सहजता भएको छ ।
राप्ती सोनारी गाउँपालिका –२ र ५ को सिमानामा पर्ने राप्ती नदीको मदुवाघाटमा ५५० मिटर लामो पक्की पुल निर्माण भएपछि वडा नम्बर ५ बिनौना र वडा नम्बर २ कचनापुरवासीको सिधा सम्बन्ध र सम्पर्क जोडिएको छ ।
पुल नहुँदा वर्षात्को समयमा आवागमन ठप्प हुने र हिउँदका महिनामा जोखिम मोलेर डुंगामार्फत नदी वारपार गर्नुपर्ने बाध्यताको अब अन्त्य भएको बिनौनास्थित भुवर भवानी माध्यमिक विद्यालयका शिक्षक रुद्र डाँगीले बताए ।
राप्ती नदीवारी कचनापुर निवासी शिक्षक डाँगीलाई नदीपारी बिनौनास्थित विद्यालय पुग्न वर्षात्को समयमा कठिन हुने गर्दथ्यो । अहिले पुल बनेपछि बिनौना र कचनापुरवासीलाई आवागमनमा सहज भएको उनको भनाइ छ ।
पुल नहुँदा कचनापुर र बिनौनावासीलाई सवारीसाधनमार्फत नदी वारपार गर्न करीब २५ किलोमिटर टाढा अगैया पुग्नुपर्ने बाध्यता रहेको थियो । पुलको निर्माणकार्य सम्पन्न भएर सवारीसाधन चल्न थालेपछि कचनापुर र बिनौना क्षेत्रका हजारौं सर्वसाधारणले राहात महसुस गरेका राप्तीसोनारी गाउँपालिका–२ कचनापुरका वडाध्यक्ष ज्ञानेन्द्र वलीले बताए ।
विक्रम संवत् २०७४ सालबाट निर्माण शुरू भएको पक्की पुल ५ वर्षभित्र गत असार मसान्तमा निर्माण सम्पन्न गर्ने सम्झौता अनुरूप कम्पनीले पुलको निर्माण कार्य सम्पन्न गरेको छ ।
तुँण्डी रसुवा कुमार श्रेष्ठ जेभीले ७३ करोड रुपैयाँको लागतमा पुल निर्माणको ठेक्का पाएको थियो । ११ वटा पिल्लर रहेको पक्की पुल ७.५ मिटर चौडाई पिच र पुलको दुवै साइडमा १ः७५ मिटरको पैदल यात्रुका लागि बाटो गरी जम्मा ११ मिटर पुलको चौडाइ रहेको छ ।
पुलको निर्माण कार्य समयमै पूरा भई सञ्चालनमा आएपछि आवागमनमा जनतालाई निकै सहज भएको राप्तीसोनारीका नागरिक अगुवा रामदास थारुले बताए ।