
सानिमा बैंकले विश्व बैंक समूह अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)बाट २ करोड अमेरिकी डलर विदेशी ऋण प्राप्त गरेको छ ।
तरलता अभावलाई मध्यनजर गरी गत आर्थिक वर्षमा नै सानिमा बैंकले आइएफसीसंग सम्झौता गरी विदेशी ऋण ल्याउन प्रयत्न गरेको थियो ।
नेपाल राष्ट्र बैंकले स्वीकृति दिए पश्चात् उक्त रकम यस आर्थिक वर्षमा प्राप्त गरी सानिमा बैंकले यस्तो ऋण ल्याउने सीमित बैंकहरुको पंक्तिमा आफूलाई उभ्याएको छ ।
आइएफसीका नेपाल आवासीय प्रतिनिधि बाबकार एस. फइबाट सन्देश प्राप्त भएको अनुसार सानिमा बैंकमा गरिएको यस लगानीले लघु, साना तथा मझौला प्रकृतिका व्यवसायलाई वित्तीय पहुँचमा थप सहजीकरण गर्दै नेपालको आर्थिक पुनरुत्थानमा सहयोग गर्ने लक्ष्य राखेको छ ।
लघु, साना तथा मझौला व्यवसायको लगानीले यस क्षेत्रको विस्तार र रोजगारी सिर्जना गर्न सक्षम बनाउनेछ ।
साथै, नगद प्रवाहले नेपालको तरलता संकट र घट्दै गएको विदेशी मुद्रा सञ्चितिलाई कम गर्न पनि योगदान पुर्याउने उनले बताए ।
सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले अहिलेको तरलताको असहज परिस्थितिमा पनि आइएफसीबाट प्राप्त रकमले एसएमई इकोसिस्टममा कर्जा प्रवाह गर्न केहि सहजता हुने धारणा व्यक्त गरे ।
उक्त सम्झौता अनुसार यो रकम लघु, साना तथा मझौला प्रकृतिका व्यवसायमा ऋण प्रवाह गर्न प्रयोग गरिने बैंकले जनाएको छ ।