०२ असार २०८३, मंगलबार

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र सञ्चालन गर्नेबारे अन्योल

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र सञ्चालन गर्नेबारे अन्योल

बुटवलमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माणको काम पूरा भए पनि यो संरचनाको जिम्मेवारी कसले लिने भन्ने विषयमा अन्योल देखिएको छ । भौतिक संरचना निर्माण सम्पन्न भइसकेको सम्मेलन केन्द्र कसलाई हस्तान्तरण गर्ने भन्ने विषयमा टुंगो नलागेको बुटवल सभाकक्ष तथा प्रदर्शनी केन्द्र निर्माण आयोजनाले जनाएको छ । 

बुटवल–१० रामनगरस्थित बुटवल मण्डपमा नेपालको झण्डा आकारमा एक हजार क्षमताको सभाकक्षसहितको सम्मेलन केन्द्रको निर्माण भएको छ । अन्तर्राष्ट्रियस्तरका कार्यक्रम गर्न मिल्ने गरी आकर्षक भौतिक संरचना तयार पारिएको बुटवल सभाकक्ष तथा प्रदर्शनी केन्द्र निर्माण आयोजनाका प्रमुख धर्मेन्द्र पन्थीले जानकारी दिए ।

संघ, प्रदेश र स्थानीय तह गरी तीन तहकै सरकारबीच यसको सञ्चालन र व्यवस्थापन कसले गर्ने भन्ने विषयमा छलफल भइरहेको छिट्टै टुंगो लाग्ने उनको विश्वास छ । संघीय सरकारको योजना र बजेटमा तयार भएको संरचना भएका कारण सम्मेलन केन्द्र सञ्चालनको मुख्य जिम्मेवारी शहरी विकास मन्त्रालयको भएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले बताए । उनले भने, ‘स्थानीय तहलाई जिम्मेवारी दिने हो भने हामी जिम्मेवारी लिन तयार छौँ ।’

सम्मेलन केन्द्र तथा प्रदर्शनी केन्द्र सञ्चालन व्यवस्थापनको नेतृत्व उपमहानगरले गरे पनि निजी क्षेत्रलाई जोडेर लैजाँदा भरपर्दो हुने उद्योगी व्यवसायीको सुझाव छ । स्थानीय सरकार र निजी क्षेत्र मिलेर यसको सञ्चालन गर्नु उपयुक्त हुने नेपाल चेम्बर अफ कमर्सका लुम्बिनी प्रदेश अध्यक्ष टंक पोखरेलले बताए । यी संरचनाको उचित व्यवस्थापन र सञ्चालनका लागि निजी क्षेत्र सहकार्यका लागि तयार रहेको उनको भनाइ छ । 

बुटवल मण्डपमा रहेको साढे १६ बिघा जग्गामध्ये ९.६ बिघा क्षेत्रफलमा निर्माण भएको  सम्मेलन केन्द्र स्थलमा एक सय ३८ बोटबिरुवा कटान गरिएकाले त्यसको पूर्ति गर्ने गरी ग्रिनरी बनाउने काम गरिएको बुटवल सभाकक्ष तथा प्रदर्शनी केन्द्र निर्माण कार्यान्वयन एकाइका इञ्जीनियर सुमन दर्लामीले बताए । आयोजनाले सम्मेलन केन्द्र परिसरमा पर्ने आकाशे पानीलाई समेत त्यही जमिनमा रिचार्ज हुने गरी संरचना बनाइएको जनाएको छ ।

लुम्बिनी क्षेत्रमा पूर्वाधार विकास गरी पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले तत्कालीन सरकारले ग्रेटर लुम्बिनीको अवधारणाअनुरूप देशकै ठूलो सम्मेलन केन्द्र निर्माणको योजना अघि सारेको थियो । रासस
 

salt training

कमेन्ट गर्नुहोस्