२२ जेठ २०८३, शुक्रबार
अमेरिकामा भित्रभित्रै चुलिँदो आक्रोश

अमेरिकामा गृहयुद्धको त्रास– आक्रोश विस्फोट गराउने झिल्को बन्न सक्छ ट्रम्पविरुद्धको छापामारी

साउन २६, २०७९
अमेरिकामा गृहयुद्धको त्रास– आक्रोश विस्फोट गराउने झिल्को बन्न सक्छ ट्रम्पविरुद्धको छापामारी
Photo : Nathan Howard/Getty Images

अमेरिकाको फौजदारी अनुसन्धान संस्था एफबीआईले पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पको मार–ए–लागो नामक महलमा छापा मारेर खानतलासी गरेपछि अमेरिकामा गृहयुद्ध शब्द चर्चामा आएको छ । 

राष्ट्रपति कार्यकालको अन्तिम समयमा ट्रम्पले कतिपय संवेदनशील सरकारी कागजात नष्ट गरेको वा घर लगेको आरोप छ । त्यसरी कागजात नष्ट गरेर वा घर लगेर ट्रम्पले सन् १९७८ मा जारी गरिएको प्रेसिडेन्सियल रेकर्ड्स याक्टको उल्लंघन गरेको बताइएको छ । एफबीआईका अधिकारीहरू तिनै कागजात खोज्दै फ्लोरिडास्थित ट्रम्पको निवास पुगेका हुन् । 

एफबीआईले छापा मार्ने यस कारवाहीलाई गोप्य राख्न खोजेको भए पनि ट्रम्प आफैंले ट्रुथ सोसल नामक सामाजिक सञ्जालमा यसको जानकारी दिए । आफूविरुद्ध डेमोक्रेटिक पार्टीको सरकार लागिपरेको र एफबीआईको कारवाही अभियोजनात्मक अनाचार भएको उनको भनाइ छ । आफूलाई सन् २०२४ मा राष्ट्रपति निर्वाचन लड्न नदिनका लागि डेमोक्रेटिक पार्टीले षड्यन्त्र गरेको उनी बताउँछन् । 

एफबीआईको छापामारीपछि ट्रम्पसमर्थक तथा अमेरिकाका उग्रदक्षिणपन्थीहरूले गृहयुद्धको कुरा व्यापक रूपमा उठाएका हुन् । सन् २०२० को निर्वाचन पनि ट्रम्पले नै जितेको तर छल गरेर बाइडनलाई विजेता घोषणा गरिएको भनी ट्रम्पसमर्थकहरूले बताउँदै आएका छन् । त्यो कुरा एफबीआईको छापामारीपछि पुनः एकपटक जोडतोडले उठेको छ । 

अमेरिकाको संस्थापन पक्षले ट्रम्पलाई निरन्तर राजनीतिक बाधा गरिरहेको आरोप लगाउँदै उनका समर्थकहरू अब यसको राजनीतिक समाधान निस्कन नसक्ने बताइरहेका छन् । ट्विटर र टेलिग्राममा ती समर्थकहरूले गरेको पोस्टको अध्ययन गर्दा उनीहरू गृहयुद्ध मच्चिने र राजनीतिक संस्थापन त्यसमा परास्त हुने बताइरहेका छन् । 

डरलाग्दो कुरा त, अमेरिकामा हालै गरिएको एक विशाल अध्ययनमा लगभग आधा सहभागीले देशमा आगामी केही वर्षभित्र गृहयुद्ध हुन सक्ने आकलन गरेका छन् । अनि २० प्रतिशत सहभागीले राजनीतिक हिंसा जायज हुने बताएका छन् । धेरैजसोले लोकतन्त्रको साटो एक शक्तिशाली नेताको शासन आफूहरूलाई स्वीकार्य हुने बताएका छन् । 

उनीहरूको भनाइअनुसार, नोभेम्बर महिनामा हुन लागेको मध्यावधि निर्वाचन पनि निष्पक्ष हुने छैन । अनि सन् २०२४ को राष्ट्रपति निर्वाचनमा पनि धाँधली गरेर रिपब्लिकनहरूलाई हराइनेछ । त्यसपछि अमेरिका गृहयुद्धको भुमरीमा फस्ने विनाशकारी भविष्यवाणी उनीहरू गर्छन् । 

यी उग्रदक्षिणपन्थीहरूको सामाजिक सञ्जाल गतिविधिको निगरानी द सूफान ग्रुपकी ग्लोबल कम्युनिकेसन्स निर्देशक स्टेफानी फोगेटले गरिरहेकी छन् । उक्त संस्थाले अमेरिकाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षाका विषयमा परामर्श दिने गरेको छ । स्लेट डट्कममा आयमान इस्माइलसँग फोगेटले गरेको कुराकानी अनुसार, उग्रदक्षिणपन्थीहरूले सामाजिक सञ्जालमा ‘एक्सलरेसनिजम’ नामक शब्द बढी प्रयोग गर्न थालेका छन् । 

त्यस शब्दको आशय हो– अहिलेको प्रणाली अत्यन्तै भ्रष्ट छ र यसलाई समूल नष्ट गर्नका लागि आफूहरूले हिंसा वा आतंकवादको समेत सहारा लिनुपर्ने हुन्छ । त्यसो गर्दा राज्यले राम्ररी शासन गर्न सक्दैन । अनि यसले यथास्थितिलाई कमजोर बनाएर भत्काइदिन्छ । बल्ल त्यसपछि नयाँ राजनीतिक व्यवस्था जन्मिन्छ र त्यो दक्षिणपन्थीहरूले सोचेको जस्तै हुन्छ ।

अर्थात्, अमेरिकामा अहिले हिंसामार्फत राजनीतिक व्यवस्था परिवर्तन गरेर दक्षिणपन्थी शासन भित्र्याउने कुराले चर्चा पाइरहेको छ । यसरी दक्षिणपन्थीहरूले ठ्याक्कै क्रान्तिकारी कम्युनिस्टहरूको भाषा प्रयोग गर्न थालेका छन् । उनीहरूको यस्तो कुराले अमेरिका गृहयुद्धको स्थितिमा पुग्न लागेको संकेत दिएको छ । 

डरलाग्दो कुरा त, अमेरिकामा हालै गरिएको एक विशाल अध्ययनमा लगभग आधा सहभागीले देशमा आगामी केही वर्षभित्र गृहयुद्ध हुन सक्ने आकलन गरेका छन् । अनि २० प्रतिशत सहभागीले राजनीतिक हिंसा जायज हुने बताएका छन् । धेरैजसोले लोकतन्त्रको साटो एक शक्तिशाली नेताको शासन आफूहरूलाई स्वीकार्य हुने बताएका छन् । 

मेडआरएक्सआईभी नामक संस्थाले अमेरिकाका सबै राज्यमा ८ हजार ६२० सहभागीहरूमाझ गरेको सर्वेक्षणमा यो तथ्य सार्वजनिक भएको हो । अमेरिकामा व्यक्तिले बन्दूक राख्न पाउने सहज व्यवस्था छ र यस सर्वेक्षणमा सहभागीहरूले राजनीतिक हिंसाका लागि आफ्नो बन्दूक उपयोग गर्न नहिचकिचाउने बताएका छन् । 

त्यसअघि सन् २०२१ मा जोग्बी एनालाइटिक्सले गरेको सर्वेक्षणमा सहभागी ४६ प्रतिशत अमेरिकीले दोस्रो गृहयुद्ध हुनेमा आफू विश्वस्त रहेको बताएका थिए । यहाँ स्मरण गराऔं, सन् १८६१ देखि १८६५ सम्म चलेको अमेरिकी गृहयुद्धमा ६ लाख २० हजार मानिस मरेको अनुमान गरिन्छ जुन त्यसबेलाको जनसंख्याको लगभग २ प्रतिशत थियो । 

त्यस्तै सन् २०२१ को अन्त्यतिर द वाशिङटन पोस्ट र मेरील्यान्ड विश्वविद्यालयले गरेको सर्वेक्षणमा तीनमध्ये एक अमेरिकीले सरकारविरुद्ध गरिने हिंसा कहिलेकाहीँ जायज हुने प्रतिक्रिया दिए । अर्थात्, लोकतान्त्रिक विधिबाट निर्वाचित सरकारविरुद्ध पनि हिंसा गर्न सकिने बहुसंख्यक अमेरिकीको सोच छ । 

लोकतान्त्रिक मूल्यमान्यतामा ठूलो संख्याका अमेरिकीहरूले प्रश्नचिह्न उठाइरहेको सन्दर्भमा आसन्न गृहयुद्धको परिकल्पना गर्नु अतिशयोक्ति हुँदैन । बारबरा एफ वाल्टरको पुस्तक ‘हाउ सिभिल वार्स स्टार्ट यान्ड हाउ टु स्टप देम’ मा अमेरिकी राजनीतिक प्रणाली विभाजित र ध्रुवीकृत भइरहेकाले गृहयुद्धको स्थिति आउन लागेको उल्लेख छ । 

रिपब्लिकन र डेमोक्रेटिक दुवै दलले पहिचानको राजनीतिलाई कट्टरताको हदसम्म तन्काएकाले समाज खेमामा विभक्त भएको वाल्टरको भनाइ छ । यी दुवै दलले अर्को पक्षका मानिसलाई आफ्नो विचारप्रणालीप्रति विश्वस्त तुल्याउन नसकी हिंसात्मक प्रतिकार गरिरहेका छन् । ‘डेमोक्रेट हुनुभन्दा रुसी हुनु ठीक’ भनी ट्रम्पसमर्थकमाझ लोकप्रिय टिशर्टको नाराले त्यसलाई पुष्टि गर्छ । 

प्राउड बोइज जस्ता दक्षिणपन्थी र एन्टिफा लगायतका वामपन्थी उग्रवादीहरूले क्रमशः रिपब्लिक र डेमोक्रेटिक पार्टीका एजेन्डालाई ‘हाइज्याक’ गर्दै जाने स्थिति आएकाले गृहयुद्ध हुने देखिएको हो । इतिहासकारहरूले राष्ट्रपति जो बाइडनलाई यसबारेमा सचेत गराएको खबर पनि सार्वजनिक भएको छ । 

द वाशिङटन पोस्टमा माइकल शेरर, एश्ली पार्कर र टाइलर पेजरले तयार पारेको सामग्रीमा उल्लेख भएअनुसार, एक हप्ताअघि इतिहासका विद्वानहरूले राष्ट्रपतिलाई लोकतान्त्रिक शासनप्रणालीका लागि अहिलेको समय सबभन्दा खतरनाक क्षण भएको बताए । पहिलो गृहयुद्ध शुरू हुनुभन्दा एक वर्षअघि सन् १८६० मा तत्कालीन राष्ट्रपति अब्राहम लिंकनले राजनीतिक विभाजनको जोखिमका बारेमा दिएको चेतावनी जस्तै स्थिति अहिले आइलागेको इतिहासकारहरूले बताए भनी स्रोतलाई उद्धृत गर्दै समाचार दिइएको छ । 

त्यसो त बाइडन स्वयंले राष्ट्रपति निर्वाचन जितेपछि डेमाक्रेटिक पार्टीका एक वरिष्ठ नेतासँग गरेको कुराकानीले पनि अमेरिकाको आसन्न गृहयुद्धको संकेत गरेको छ । द न्युयोर्क टाइम्सका पत्रकारद्वय जोनाथन मार्टिन र अलेक्जेन्डर बर्न्सको पुस्तक ‘दिस विल नट पास’मा उल्लेख गरिएअनुसार, बाइडनले ‘मेरो राष्ट्रपति कार्यकाल सफल होस् भन्ने आशा गर्छु, सफल भएन भने हाम्रो देश बच्दैन’ भने । अमेरिकाका राष्ट्रपति जस्ता व्यक्तिले यस्तो विनाशकारी सम्भावनाको कुरा गर्नुले पनि अमेरिकामा गृहयुद्धको डर व्यापक फैलिएको संकेत गर्छ । 

त्यसमाथि बाइडनको राष्ट्रपति कार्यकाल लगातार विफल भइरहेको छ । पोहोर साल अफगानिस्तानबाट अमेरिकाको अव्यवस्थित बहिर्गमनपछि बाइडनको समर्थन सूचकांक लगातार ओरोलो लागेको छ । यस्तो अलोकप्रियताका माझ बाइडनले आफ्ना प्रतिद्वन्द्वी ट्रम्पलाई राज्यको अनुसन्धान निकाय एफबीआईको त्रास देखाएर गृहयुद्ध चर्काउने मसला समेत दिएका छन् । 

अमेरिकामा मूलतः राजनीतिक विचारधाराको विभाजनले नै गृहयुद्ध निम्त्याउने विश्लेषकहरूको अध्ययनबाट थाहा हुन्छ । त्यस विचारधारामा जातीयता र नश्लीयता जस्ता तत्त्वहरू पनि जोडिएका छन् । श्वेत व्यक्तिहरूभन्दा अश्वेतहरूको संख्या धेरै भइसकेकाले अस्तित्व संकटको अनुभव गरेका श्वेतहरू उग्रवादतर्फ आकर्षित भइरहेका छन् । तिनलाई रिपब्लिकन पार्टीले प्रश्रय समेत गरिरहेको छ । 

अमेरिकामा मूलतः राजनीतिक विचारधाराको विभाजनले नै गृहयुद्ध निम्त्याउने विश्लेषकहरूको अध्ययनबाट थाहा हुन्छ । त्यस विचारधारामा जातीयता र नश्लीयता जस्ता तत्त्वहरू पनि जोडिएका छन् । श्वेत व्यक्तिहरूभन्दा अश्वेतहरूको संख्या धेरै भइसकेकाले अस्तित्व संकटको अनुभव गरेका श्वेतहरू उग्रवादतर्फ आकर्षित भइरहेका छन् । तिनलाई रिपब्लिकन पार्टीले प्रश्रय समेत गरिरहेको छ । 

उता डेमोक्रेटिक पार्टीले अश्वेतहरूको पहिचानको राजनीतिलाई चरममा पुर्‍याउने काम गरिरहेको छ । श्वेत व्यक्तिहरूलाई कुनै फोरममा उपस्थिति जनाउन नै नदिने ‘क्यान्सल कल्चर’ फैलनुमा डेमाक्रेटिक पार्टीका नीतिहरू पनि जिम्मेवार रहेको कतिपयको धारणा छ । 

यसरी आफू नै ठीक अनि अर्को पक्ष पूरै बेठीक भन्ने किसिमको ध्रुवीकृत मानसिकता अमेरिकीहरूमाझ देखिन थालेकाले यसले कतै मुलुकलाई गृहयुद्धमा त होम्दैन भन्ने आशंका गरिएको हो । शीतयुद्धको अन्त्यपछि अमेरिकाका विभिन्न सरकारले लामो समय विदेशी भूमिमा अनावश्यक युद्ध लडेर आफ्ना जनतालाई पर्याप्त ध्यान नदिएकाले यस्तो स्थिति आएको हो । अमेरिकामा आर्थिक असमानता चुलिएर धनाढ्यहरूको राज (प्लुटोक्रेसी) चलेको अनि मध्य तथा निम्न वर्गलाई जीवन धान्न गाह्रो परेकाले पनि गृहयुद्धको स्थिति आउन लागेको देखिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्