
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा गठबन्धन दलबीच सिट बाँडफाँटको ‘मोडालिटी’बारे कार्यदलले छलफल शुरु गरेको छ । सत्तारुढ गठबन्धन दलहरूले गठन गरेको कार्यदलले बिहीवारबाट सिट बाँडफाँटको मोडालिटीबारे छलफल थालेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार बसेको कार्यदलको दोस्रो बैठकमा मोडालिटीबारे छलफल भएको हो । कार्यदलका कांग्रेस सदस्य एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विभिन्न मोडालिटीमा छलफल शुरु भएको जानकारी दिए ।
‘विभिन्न मोडालिटिमा खुलस्त छलफल भइरहेको छ, हामी केही दिनमै सहमतिमा पुग्छौँ’ कार्कीले भने । साउन १३ गते बसेको पाँच दलीय गठबन्धनको बैठकले चुनावमा तालमेल गर्ने औपचारिक निर्णय गर्दै सहमति खोज्न कार्यदल गठन गरेको थियो ।
बिहीवारको बैठकमा दलहरूले आ–आफ्नो दाबी पेश गरेका छन् । कार्यदलमा कांग्रेस नेता कृष्ण सिटौला संयोजक छन् ।