
वसन्तपुर डबलीमा अनसनमा बसिरहेकी ‘कुमारी आमा’ निहारिका राजपूतले शुक्रवार शितलनिवास अगाडि आत्मदाहको प्रयास गरेकी छन् । पछिल्लोपटक एकहप्ता अगाडिदेखि अनसनमा बसिरहेकी उनले शुक्रवार राष्ट्रपति भवन शितलनिवास पुगेर आत्मदाहको प्रयास गरेकी हुन् ।
वसन्तपुरस्थित अनसनस्थलबाट उनी शुक्रवार अपराह्न आत्मदाह गर्ने भन्दै ट्याक्सी चढेर शितलनिवास पुगेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनले शितलनिवास पुगेर ट्याक्सीबाट ओर्लनेबित्तिकै जिउमा मट्टितेल छर्केर आत्मदाहको प्रयास गरेकी थिइन् ।
तर, त्यहाँ रहेका सुरक्षाकर्मीले उनलाई तत्काल आत्मदाह गर्नबाट रोकेका थिए । प्रहरीले उनको उद्धार गरेको थियो । उद्धार गरेर प्रहरीले उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पु¥याएको छ ।
उनी पछिल्लो समय उनी १ हप्तादेखि वसन्तपुरमा आमरण अनसनमा थिइन् ।
महोत्तरीको जलेश्वर नगरपालिका ९ की सोनालीकुमारी सिंह ‘निहारिका’ यसअघि ८ दिनसम्म अनसनमा बसेकी थिइन् । त्यतिबेला सरकारसँग ५ बुँदे सहमति गरेपछि अनसन उनले तोडेकी थिइन् । तर, सरकारले आफूसँग भएको सहमतिको कार्यान्वयन नगरेको भन्दै उनी साउन २० गतेबाट पुनः अनसनमा बसेकी थिइन् ।
उनी बलात्कारबाट आफ्नो गर्भ बसेको र बच्चा जन्मिएको भन्दै बलात्कारीलाई कानूनी कारबाहीको माग गर्दै आन्दोलनमा उत्रँदै आएकी छन् ।