काठमाडौं, १४ साउन- कांग्रेस प्रमुख सचेतक चीनकाजी श्रेष्ठ बुधबार मन्त्री पदको शपथका लागि राष्ट्रपति भवन जान आफ्नो निवासमा हतार-हतार दौरा-सुरुवाल लगाउँदै थिए । त्यहीबेला उनको मोबाइलको घन्टी बज्यो । श्रेष्ठले फोन उठाएका मात्र थिए, उताबाट खबर आयो, ‘यसपटक सकिएन, तपाईंलाई अर्कोपटक ।’

प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिवले फोनमा ‘अर्कोपटक मात्र’ भनेपछि उनी ‘छाँगाबाट खसेझैं’ भए । प्रधानमन्त्री देउवाले बुधबार दिउँसो साढे २ बजे शपथग्रहणका लागि दौरा-सुरुवाल लगाउन पठाएका उनी आफ्नो नाम मन्त्रीको सूचीबाट एकाएक हटेपछि तीनछक परे । त्यति मात्र होइन, उनी चौथोपटक मुलुकको बागडोर सम्हालेका देउवाको ‘भद्रगोल शैली’बाट पनि चकित भए, आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
देउवाले उनलाई मात्र नभई शपथको तयारी गर्न भनेका अन्य सांसदलाई पनि मन्त्री बन्ने सूचीबाट हटाइएको भन्दै सचिवालयबाट जानकारी गराउन लगाएका थिए । त्यसपछि ‘पञ्चायतकालको यातनाभन्दा चरम दण्ड पाएको’ गुनासो देउवाको कार्यशैलीबाट रुष्ट सांसदले गर्न थालेका छन् । पार्टी सभापति एवं प्रधानमन्त्री देउवाले नै बालुवाटारमा रहेका सांसदलाई दौरा-सुरुवाल लगाउन पठाएका थिए । तर, उनीहरूलाई राष्ट्रपति भवन शीतलनिवास नपुग्दै मन्त्री बनाउन सकिएन भन्दै ‘बेइज्जत’ गर्ने काम भयो । आफूले बचन दिएकाहरूलाई मन्त्री बनाउन नसकेको खबर देउवाले स्वकीय सचिव केशव जोशीमार्फत प्रवाह गरेको पीडित सांसद बताउँछन् ।
श्रेष्ठ मात्र होइन, केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी, भीष्मराज आङ्देम्बेलगायत पनि देउवाको भद्रगोल शैलीबाट पीडित बनेका छन् । ‘मन्त्री भयांै भन्दै पार्टीका नेता, कार्यकर्ता, परिवारजन र शुभेच्छुकबाट शुभकामनासमेत आदानप्रदान गरिसकेका थियौं’, एक सांसदले भने, ‘यतिसाह्रो पीडित भइएला भन्ने कल्पना पनि थिएन ।’