काठमाडौँ, १४ साउन - माओवादी केन्द्रमा मन्त्री बन्न नपाएपछि पीडा सुनाउने नेताको कमी छैन । ‘विडम्बना नै भन्नुपर्छ, यो देशमा नेपाली पोसाक लगाउनेलाई फाल्ने र चप्पल लाउनेलाई शपथ खुवाउने परम्पराको सुरुवात भयो’, माओवादी केन्द्रकी सचेतक सीता नेपालीले भनिन्, ‘यसपटक तपाईं मन्त्री भन्दै पार्टी अध्यक्षलगायत सबैले बधाई दिनुभयो तर अन्तिममा सकिएन भन्दै नाम काटियो ।’ एक महिनासम्म उनलाई महिला, बालबालिका तथा समाजकल्याणमन्त्रीका रूपमा उचाल्ने काम मात्र भएको उनीनिकट नेता बताउँछन् , अन्नपूर्ण पोस्टमा खबर छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको अघिल्लो सरकारमै पनि मन्त्री बन्ने भन्दै चर्चामा रहेकी नेपाली यसपटक भने ढुक्क थिइन् । ‘मन्त्री भन्दै पार्टीले मलाई प्रचारमा ल्यायो’, उनले भनिन्, ‘बुधबार बिहान मात्रै पनि महिला सांसद समितिको बैठकमा अधिकांशले बधाई तथा शुभकामना दिनुभयो । म पनि होला त भन्दै ढुक्कै थिएँ तर अन्तिम समयमा पार्टी अध्यक्षको भनाइ भन्दै सचिवालय सदस्य हितराज पाण्डेले तपार्इंलाई मन्त्री बनाउन सकिएन भन्दै फोन गर्नुभयो ।’
दाहालले देउवालाई मन्त्रीको सूची बुझाउने बेलासम्म पनि उनी आफू मन्त्री बन्नेमा ढुक्क थिइन् । ‘सञ्चारमाध्यम, पार्टी अध्यक्षसहित जिम्मेवार कमरेडहरूले तपाईं मन्त्री पक्का भनेपछि त्यसका लागि तयारी नगर्ने त कुरै भएन’, उनले भनिन्, ‘मैले पार्टीसमक्ष प्रश्न गरिसकेकी छु- दलित भएका कारण मैले मन्त्री नपाएको हो ? माओवादीको समावेशी र समानुपातिक सिद्धान्त यही हो ? ’