१८ असार २०८३, बिहीबार

फोहरका कारण कालीमाटी तरकारी बजारको मुख्य प्रवेशद्वार नै बन्द

फोहरका कारण कालीमाटी तरकारी बजारको मुख्य प्रवेशद्वार नै बन्द

नियमितरुपमा फोहर व्यवस्थापन हुन नसक्दा कालीमाटी तरकारी बजार प्रवेश गर्ने मुख्य प्रवेशद्वार नै बन्द भएको छ ।  

कालीमाटीबाट तरकारी बजार प्रवेश गर्नका लागि तीन प्रवेशद्वार रहेकामा दुई स्थानबाट सवारीसाधन आवतजावत गर्ने  एक मानिसका लागि बनाइएको हो । दुई महिनादेखि कालीमाटी क्षेत्रको फोहर व्यवस्थापन हुन नसक्दा तरकारी बजारबाट निस्केको फोहर र घरबाट निस्केको फोहरसमेत मानिस आवतजावत गर्ने प्रवेशद्वारमा फल्ने गरिएकाले अहिले उक्त स्थानबाट आवतजावत गर्न सकिने अवस्था छैन । 

फोहरकै कारण मानिसले यो प्रवेशद्वार प्रयोग गर्न नपाएको कालीमाटीमा केरा बेच्दै आउनुभएकी रमिता लामाको भनाइ छ । उहाँका अनुसार दुई महिनादेखि यस क्षेत्रमा फोहरको गाडी आएका छैनन् ।    

कालीमाटीमा गाडी रोकेर यात्रु ओराल्ने र चढाउने स्थानमा पनि फोहरको डङ्गुर थुपारिएकाले यात्रुलाई समस्या पर्नाका साथै फुटपाथमा आवतजावत गर्नसमेत कठिन छ ।  

कालीमाटीमा मात्रै होइन उपत्यकाको अन्य स्थानमा पनि फोहर थुप्रिएकाले  दैनिक जनजीवनमा असर परेको छ । कलंकी, कालीमाटी, बल्खु, अनामनगर, थापागाउँ, बानेश्वर, कोटेश्वरलगायत स्थानमा लामो समयदेखिको फोहर सडक किनारामा हुँदा थुप्रिदा समस्या भएको हो  । 

साउन २२ गते काठमाडौं उपत्यकाबाट फोहर बोकेर अन्तिम व्यवस्थापन स्थल जाने क्रममा सिसडोलवासीले  गाडी तोडफोड गरेपछि व्यवस्थापन हुन नसकेको फोहर शनिवारदेखि पुनः शुरु भएको छ । 

काठमाडौं महानगरपालिका वातावरण विभाग प्रमुख सरिता राईले कहिले स्थानीयवासीको अवरोध, कहिले बाटोका कारण त कहिले गाडी तोडफोड हुँदा फोहर व्यवस्थापनमा समस्या आएको र आगामी दिनमा अन्य अवरोध सिर्जना नभए नियमितरुपमा फोहर व्यवस्थापन हुने बताइन् । 

पछिल्लो समय जटिल बनिरहेको उपत्यकाबाट उत्पादित कुहिने फोहर व्यवस्थापनका लागि स्थान पहिचानको काम भइरहेको पनि काठमाडौं महानगरपालिकाले जनाएको छ । काठमाडौं महानगरपालिकाले अन्य स्थानीय तहसँगको सहकार्यमा कुहिने फोहरलाई उपत्यकामा नै व्यवस्थापन गर्न पहिलो चरणमा कीर्तिपुरमा करिब ५० रोपनी जग्गा प्राप्त भएको र सोही स्थानबाट नै काम शुरू गर्ने जनाएको छ । 

उक्त स्थानमा अहिले दैनिक ४० हजार किलो त्यस्ता फोहर व्यवस्थापन गरी मल उत्पादन गर्ने सकिने बताइएको छ । उक्त स्थानमा हाल आठ वडाबाट उत्पादन हुने कुहिने फोहर व्यवस्थापन गर्न सकिनेछ । उत्पादित मल सहुलियत दरमा बिक्री गर्ने तयारी पनि काठमाडौं महानगरपालिकाको छ । 

योसँगै उपत्यकाको अन्य स्थानमा पनि थप जग्गा रोज्ने काम भइरहेको छ । सबै किसिमका फोहर बञ्चरेडाँडा पु¥याउँदा पटकपटक समस्या आएकाले प्रभावकारीरूपमा फोहरको दीर्घ समाधानका लागि स्थान पहिचानमा समय लागेको हो । बञ्चरेडाँडामा हानिकारक फोहर व्यवस्थापन नगर्ने योजनाअनुरुप काठमाडौं महानगरपालिकाले यस किसिमको अभ्यास शुरू गरेको छ । 

काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार हाल अन्य सम्भावित स्थान पहिचान गर्ने काम पनि जारी छ । यसअन्तर्गत चन्द्रागिरि, दक्षिणकाली, नागार्जुन, तारकेश्वर र उपत्यका बाहिर बनेपाका साथै  अन्य स्थानमा पनि महानगरप्रमुख बालेन्द्र शाहको नेतृत्वमा जग्गा खोज्ने काम भइरहेको छ । हालसम्म उपलब्ध भएका जग्गामा ५० रोपनीदेखि एक सय ५० रोपनीसम्मको छ । अझै बढी उपयुक्त र कम खर्चिलो जग्गाको खोजीमा लागिरहेको उनले बताए । 

फोहर स्रोतमै वर्गीकरण प्रभावकारी भएन

फोहर व्यवस्थापनलाई थप प्रभावकारी बनाउनका लागि काठमाडौं महानगरपालिकाले यही साउन एक गतेदेखि स्रोतमा नै फोहर वर्गीकरण गरी कुहिने र नकुहिने फोहर फरकफरक तरिकाबाट व्यवस्थापनको काम शुरू गरेको थियो ।

शुरूका केही दिनमा वर्गीकरण गरिएको फोहर व्यवस्थापन गरिए पनि अहिले सबै किसिमका फोहर एकै भाँडोमा राखेर आउने गरेको काठमाडौं महानगरपालिकाकै भनाइ छ । यसलाई आगामी दिनमा प्रभावकारी बनाउनका लागि नियमित अनुगमन गरी फोहरमैला व्यवस्थापन ऐन २०६८ अनुसार दण्ड जरिवाना गर्ने तयारी गरिएकोे छ ।

काठमाडौं महानगरपालिकाको कूल ३२ वडामध्ये मुख्य नौ वडाबाहेक अन्यमा निजी कम्पनीको सहकार्यमा फोहर व्यवस्थापन हुँदै आएको छ । फोहर वर्गीकरण योजना भने ३२सै वडामा लागू गरिएको छ । काठमाडौं महानगरपालिकाले मात्रै फोहर व्यवस्थापन गर्दै आएको नौ वडामा सबै दिन नियमितरुपमा फोहर व्यवस्थापन भइरहेको छ । निजी संस्थाले फोहर व्यवस्थापन गर्दै आएको स्थानमा भने विगत दुई महिनादेखि फोहर व्यवस्थापन हुन नसकेको स्थानीयवासीले गुनासो गरेका छन् । रासस

salt training

कमेन्ट गर्नुहोस्