
विराटनगर महानगरपालिकाले विराटनगरको समग्र विकासका लागि विषयविज्ञहरूसँग छलफल गरेको छ ।
महानगरले विषय विज्ञलाई बोलाएर ‘तत्कालीन, अल्पकालीन र दीर्घकालीन के–कस्ता योजना ल्याएर विराटनगरको वृहत्तर विकास गर्न सकिन्छ ?’ भन्ने विषयमा छलफल थालेको हो । छलफलमा सहभागीहरूले सबैलाई करको दायरामा ल्याएर महानगरको आम्दानी बढाउनुपर्नेमा जोड दिए । उनीहरूले विराटनगरको पहिचान झल्कने योजनाहरू सञ्चालन गर्नसमेत सुझाव दिए ।
पहिलो चरणमा बुद्धिजीवि र विभिन्न सामाजिक संघसंस्थामा आबद्ध व्यक्तिहरूसँग छलफल भएको मेयर नागेश कोइरालाले जानकारी दिए । त्यस अवसरमा मेयर कोइरालाले महानगर योजना आयोग बनाएर विराटनगरको वृहत्तर विकासमा लाग्ने बताए । ‘महानगरको छुट्टै योजना आयोग बनाएर विकासको मोडल तयार गर्ने हाम्रो योजना छ,’ उनले भने, ‘त्यसका लागि हामी गृहकार्यमा छौँ, अब विराटनगर यथास्थितिमा बस्न सक्दैन । हामी आएको पनि तीन महिना भएकै छैन । अझै धेरै कुरा बुझिसकेका छैनौं । त्यसो भएकाले जादूको छडी होइन हामी आउने बित्तिकै सबै थोक हुँदैन । यो सोच पनि महानगरवासीले राख्नुहुँदैन ।’
छलफलमा प्रा.डा. पीके झा, डा. भेषप्रसाद धमला, वरिष्ठ अधिवक्ता भरत थापा, विनयराज पाण्डे, महेन्द्र मोरङ क्याम्पसका प्रमुख प्रा.डा. बाबुराम तिम्सिना, बुद्धिजीवी दिनेश श्रेष्ठ, एलिट क्लबका अध्यक्ष विश्वनाथ रिजाल, महासचिव यज्ञ शर्मा, विराटेश्वर वृद्धाश्रमका अध्यक्ष जगतप्रसाद अज्र्याल, विराट साहित्य संगमका अध्यक्ष मधु पोखरेल, साहित्यकार रामबाबु दाहाल, एविसी नेपालकी अध्यक्ष विष्णु शर्मा, पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेल, युवा अभियन्ता वसन्त अधिकारीलगायतले महानगरको विकासका सन्दर्भमा आ–आफ्ना सुनाव दिएका थिए ।
उद्योगी, व्यापारी, साहित्य, पत्रकारिता, शिक्षा, स्वास्थ्य, यातायात, बैंकिङ, खेलकुदलगायत क्षेत्रगत रुपमा बेग्लाबेग्लै क्षेत्रका व्यक्तिलाई बोलाएर महानगरले छलफल सञ्चालन गर्ने मेयर कोइरालाले बताए ।