
काठमाडौं महानगरपालिकाले शनिवारदेखि बञ्चरे डाँडामा फोहोर लैजान थालेको छ ।
विगत केही दिनदेखि काठमाडौंमा थुप्रिएर रहेको फोहोरलाई बञ्चरे डाँडामा लैजान शुरू गरेको महानगरका मेयर बालेन साहले जानकारी दिएका छन् ।
शनिवार मात्रै महानगरपालिकाले १ सय ८२ ट्रक फोहोर बञ्चरे डाँडामा लगिएको उनले जानकारी दिएका छन् ।
आइतवार (आज) देखि २५० देखि ३५० ट्रक गाडीले फोहोर बञ्चरे डाँडामा लैजाने तयारी भएको मेयर साहले जानकारी दिएका छन् ।
उनले अवरोध नभएमा अब फोहोर व्यवस्थापन हुने संकेत गरेका छन् ।
मेयर साहले काठमाडौंको ७५ गाडी र त्यतिनै मात्रामा अरू पालिकाहरूबाट पनि दैनिक फोहोर उत्सर्जन हुने भएकाले दैनिक रूपमा १५० गाडी फोहोरको व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको जनाएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मेयर साहले फोहोर व्यवस्थापनको नियमित अवस्थामा पुग्न अझै केही समय लाग्ने जनाएका छन् ।
यसका लागि सबैको सहकार्य जरुरी रहेको मेयर साहको भनाइ छ ।
मेयर साहले सिसडोलको दुरावस्था बञ्चरे डाँडामा कुनै हालतमा नदोहोर्याउने बताएका छन् ।
उनले भनेका छन्,‘यो पनि विश्वास दिलाउन चाहन्छौँ कि हामी कुनै पनि हालतमा सिसडोलको दुरावस्था बञ्चरे डाँडामा दोहोर्याउने छैनौँ ।’
थुप्रिएका फोहोरहरूको व्यवस्थपन नभई अन्य विकल्पहरूमा जानु व्यवहारिक रूपमा कठिनाइ भएकाले मात्रै बाध्य भएर अहिलेको व्यवस्थापनको तरिका अपनाइ रहेको मेयर साहले जानकारी दिएका छन् ।
उनले फोहोरको दीर्घकालिन व्यवस्थापनका लागि योजनाहरू रहेको र त्यसको सफलताका लागि हदैसम्म प्रयास गरिने उल्लेख गरेका छन् ।
उनले भनेका छन्,‘हाम्रो अन्तिम लक्ष्य फोहोरको त्यस्तो व्यवस्थापन हो, जहाँ कसैले फोहोरका कारण आक्रान्त हुनुपर्दैन । कसैले कुमाउनुपर्दैन र सबैको साझा जीत हुनेछ ।’