
उनी ४८ बच्चाका बुवा हुन् तर उनले बिहे गर्न जीवन–साथी पाएका छैनन् । उनले शुक्रकिट दान गर्ने भएकाले विभिन्न आमाबाट ४८ बच्चा जन्मिएका छन् ।
कतिपय महिला शुक्रकिट बैंकमा गएर शुक्रकिट लिन चाहँदैनन्, किनकि आमालाई बच्चाको वास्तविक बुवाबारे जानकारी मिल्दैन । तर व्यक्तिगत रूपमा शुक्रकिट लिँदा बुवाको पनि पहिचान हुन्छ ।
व्यक्तिगत रूपमा शुक्रकिट लिन चाहने महिलालाई सघाउँदै आएका छन् अमेरिकाका ३१ वर्षीय कइल गोर्डी । उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएर शुक्रकिट दान गर्ने गरेका छन् ।
उनी शुक्रकिट दाता भएका कारण उनलाई धेरै महिला सम्पर्क गर्छन्, शुक्रकिट माग्छन् तर उनीसँग जीवन बिताउने गरी जीवन–साथी बन्न कोही तयार छैनन् । उनीसँग विवाह नगर्नुको कारण उनी शुक्रकिट दाता हुनु हो ।
उनले भने, ‘महिलाहरू मेरो प्रशंसा गर्छन् तर अरु महिलाबाट बच्चा जन्माउने पुरुषसँग विवाह गर्न चाहँदैनन्, ४८ महिलालाई शुक्रकिट दान गरेर बच्चा जन्माउनु मेरो कमजोरी भएको छ ।’