
नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा एमालेले जित्ने र टिक्ने उम्मेदवारलाई टिकट दिने बताएका छन् । गएको स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनोटमा कमजोरी भएको स्वीकार गर्दै आगामी निर्वाचनमा एमालेले ‘जित्ने र टिक्ने’ उम्मेदवारलाई टिकट दिने स्पष्ट पारेका हुन् ।
सोमवार अनेरास्ववियुले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने दाबी पनि गरेका छन् । स्थानीय तह निर्वाचनमा सर्वाधिक लोकप्रिय मत पाएकाले एमालेले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा बहुमत ल्याउने वरिष्ठ उपाध्यक्ष पोखरेलको तर्क थियो । उम्मेदवार तय गर्दा व्यवस्थापकीय कमजोरी भएका कारण स्थानीय तह निर्वाचनमा आफ्नो पार्टी पहिलो शक्ति बन्न नसकेको उल्लेख गरे । उनले अब हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आफ्नो पार्टीले त्यस्तो गल्ती नगर्ने प्रतिबद्धता व्यक्त गरे ।
‘स्थानीय तह निर्वाचनमा हामीले जनताको सर्वाधिक लोकप्रिय मत प्राप्त ग¥यौँ । यो हाम्रो दाबी मात्रै होइन, निर्वाचन आयोगको बुलेटिनमा उल्लेख गरिएको कुरा हो । स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिने सन्दर्भमा व्यवस्थापकीय कमजोरी भएकाले हामीले सोचेजस्तो परिणाम ल्याउन नसकेको हो’, उनले भने, ‘अब हामी आउने चुनावमा समयमै उम्मेदवारी दिन्छौँ । जित्नेलाई उठाउँछौं, टिक्नेलाई उठाउँछौँ ।’
वरिष्ठ पोखरेलले भदौ अन्तिमसम्म एमालेले उम्मेदवारको टुंगो लगाउने जानकारी दिएका छन् । अब बस्ने स्थायी समिति, पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठकले उम्मेदवार छनोटका लागि आवश्यक मापदण्ड तय गर्ने उनले बताए । उनले सत्तारुढ गठबन्धनमा आबद्ध कुनै पनि दलसँग निर्वाचनमा मोर्चाबन्दी हुने सम्भावना नरहेको उनले बताए ।