०६ साउन २०८३, बुधबार

संसद्मै उठ्यो दैलेखका प्रजिअलाई कारबाही गर्नुपर्ने माग

संसद्मै उठ्यो दैलेखका प्रजिअलाई कारबाही गर्नुपर्ने माग

सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसकी सांसद लक्ष्मी परियारले दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेललाई कारबाही गर्न सरकारसँग माग गरेकी छन् । गृह मन्त्रालयको निर्देशनअनुसार नागरिकतामा आफ्नो नाम सच्याउन पुगेका कर्णबहादुर कामीमाथि जातीय विभेदलाई प्रश्रय दिने गरी अपमानपूर्वक व्यवहार गरेको भन्दै प्याकुरेलमाथि तत्काल कारबाही गर्न उनले माग गरेकी हुन् । 

मंगलवार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद परियारले प्रजिअ अधिकारीले आफूलाई कानूनभन्दा माथि राख्न खोजेको टिप्पणी गरिन् । उनले गृह मन्त्रालयको निर्देशनलाई समेत पालना नगरेर अधिकारीले जातीय दम्भ देखाएको भन्दै आक्रोश समेत व्यक्त गरिन् । 

‘नामबाटै अपमानित भएका दलित समुदायका व्यक्तिले प्रक्रिया पुर्‍याएर नाम सच्याउन निवेदन दिँदा पनि दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले अपमानजनक व्यवहार गरेको पाइएको छ’, सदनमा उनले भनिन्, ‘यही २९ गते आवश्यक प्रक्रिया पुर्‍याई ठगे कामीको सट्टा मेरो वास्तविक नाम कर्णबहादुर कामी लेखी नागरिकता प्रमाणपत्र प्रतिलिपि पाउँ भनी दैलेख जिल्ला प्रशासन कार्यालय जाँदा त्यहाँका प्रमुख जिल्ला अधिकारीले उल्टो उनलाई अपमान, दुर्व्यवहार गरी उनको निवेदन च्याती दिनुका साथै भरेको नागरिकता फारम काम नलाग्ने गरी डटपेनले केरमेट गरेर पठाएका छन ।’

उनले प्रजिअ अधिकारीको कामलाई  लोकतन्त्रमाथिको भद्दा मजाकका रूपमा अर्थ लगाएकी छन् । सांसद परियारले प्रश्न गरिन्, ‘लोकतन्त्रमा कर्मचारी शासक हुन्छ कि सेवक हुन्छ ?’ उनले सार्वजनिक पदमा बसेर जातीय विभेदलाई प्रश्रय दिन लगाउने र दलितलाई जातका आधारमा अपमान गर्ने गैर जिम्मेवार कर्मचारीलाई कानूनी दायरामा ल्याउन माग गरिन् ।

salt training

कमेन्ट गर्नुहोस्