
एकसमयकी चर्चित अभिनेत्री तृप्ती नाड्करका छोरा धिरज नाड्करले नेपाली चलचित्रमा डेब्यू गरेका छन् । उनले आगामी असोज १४ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको सुरेन्द्र पौडेल निर्देशित चलचित्र ‘बाबरी’ मार्फत नेपाली रजतपटमा डेब्यू गर्न लागेका हुन् ।
धिरज मगर, अदिति बुढाथोकी र धिरज नाड्कर अभिनित चलचित्रको सोमवार राजधानीमा एक कार्यक्रमकाबीच ट्रेलर सार्वजनिक गरियो । उक्त कार्यक्रममा उपस्थित डेब्यू अभिनेता नाड्करले नेपाली रजतपतमा प्रवेश गर्नका लागि ‘बाबरी’ उत्कृष्ट भएको विश्वास व्यक्त गरे ।
उनले चलचित्रबाट आफूले माया पाउने विश्वास लिएको समेत बताए । ‘जति माया नेपालले मेरो आमालाई दिएको छ । मैले पनि अलिअलि त पाउन सक्छु’ नाड्करले भने, ‘सबै जनाले मेहनतसँग चलचित्र बनाएका छौँ । सबैजनालाई चलचित्र मन पर्ने आशा राखेको छु ।’
धिरजले यस चलचित्रमा आफू आफ्नी आमाका कारण जोडिएको बताए । आफ्नो डेब्यूबारे उनले भने, ‘यो चलचित्रको एउटा भूमिकाका लागि निर्देशक सुरेन्द्र सरले मेरी आमालाई अप्रोच गर्नुभएको थियो । तर, मेरो आमाले मलाई रेकमेन्ड गरिदिनुभयो । आमाले मेरो वर्क प्रोफाइल सुरेन्द्र सरलाई पठाउनुभयो । भाग्यवश उहाँलाई मन पर्यो र अहिले म यहाँहरू समक्ष छु ।’
डेब्यू अभिनेता धिरजले नेपाली चलचित्रमा आफ्नी आमाले बनाएको नामलाई कायमै राखेर अझ त्यसलाई उँचो बनाउन जिम्मेवारीसँगै उत्तिकै चुनौती रहेको बताए । त्यसबारे उनले भने, ‘पक्कै पनि ठूलो चुनौती छ । म मेरो शतप्रतिशत दिने कोसिस गर्छु । बाँकी मलाई कसरी स्वीकार गर्नुहुन्छ भन्ने त दर्शकमा निर्भर रहन्छ ।’
अभिनेत्री तृप्तीले नेपाली चलचित्र क्षेत्रमा आफ्नो छुट्टै स्थान बनाएकी छिन् । ‘कुसुमे रुमाल’, ‘साइनो’, ‘लाहुरे’, ‘सम्झना’, ‘देवर बाबु’, ‘त्रिशुल’जस्ता उनका चलचित्रहरू आज पनि दर्शकले सम्झिरहेका हुन्छन् । उनी चलचित्र क्षेत्रबाट टाढिएको भने लामो समय भइसकेको छ ।
तृप्ति चलचित्रमा देखिन छाडेको लामो समयपछि उनका छोराले नेपाली चलचित्रमा डेब्यू गर्न लागेका हुन् । धिरज भारतमा जन्मिएर भारतमै हुर्किएका हुन् । उनले केही हिन्दी विज्ञापनहरूमा समेत काम गरिसकेका छन् । उनले आउँदा दिनमा सबै भाषाका चलचित्रमा काम गर्न चाहेको बताए ।
‘बाबरी’ दशैंको अवसर पारेर प्रदर्शनमा आउन लागेको हो । चलचित्रमा बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ लगायतको पनि मुख्य भूमिका छ । सिजन दाहाल, मनोज त्रिपाठी र रीत बोहराले चलचित्र लेखेका हुन् । नरेन्द्र मैनालीको छायांकन रहेको चलचित्रलाई निर्देशक पौडेल स्वयंले सम्पादन गरेका हुन् । गणेश बुढाथोकी र पुष्पलता बुढाथोकी चलचित्रका निर्माता छन् ।