
काठमाडौंमा एनसेलको फोन अन्यको भन्दा बढी प्रभावकारी देखिएको छ ।
नेपाल दूरसंचार प्राधिकरणले काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूमा गरेको भ्वाइस तथा डेटा सेवाको गुणस्तर परीक्षणमा एनसेल अगाडि देखिएको हो ।
प्राधिकरणले गत असार १२ गतेदेखि २२ गतेसम्म टंगाल, हाँडीगाउँ, सानो गौचरण, बौद्ध, चाबहिल, गौरीघाटलगायतका क्षेत्रमा गुणस्तर परीक्षण गरेको थियो।
प्राधिकरणले परीक्षणका क्रममा भ्वाइस र डेटामा रहेर विभिन्न इन्डिकेटरमा सेवा प्रदायकहरूको सेवा जाँच गरेको जनाएको छ।
जसअन्तर्गत एनसेलबाट कल सेटअप सफल दर (कल सेटअप सक्सेस रेट) शतप्रतिशत रहेको परीक्षणमा देखिएको छ।
नेपाल टेलिकमको ९५.७१ प्रतिशत र स्मार्ट टेलिकमको ९४.५२ प्रतिशत छ। प्राधिकरणले फोनकल फोनकल सेटअप सफल दरको थ्रेसहोल्ड ९९.९९ प्रतिशत वा त्योभन्दा बढी हुनुपर्ने कायम गरेको छ।
यस्तै फोन लाग्ने समय (कल सेटअप टाइम) मा पनि एनसेल नै अघि देखिएको छ ।
पाँच सेकेन्ड वा त्योभन्दा कम हुनुपर्नेमा फोनकल लाग्ने समय एनसेलको ५.१३ सेकेन्ड, टेलिकमको ७.२७ सेकेन्ड र स्मार्टको ९.३ सेकेन्ड भेटिएको छ।
एनसेलको कल ब्लक रेट शून्य प्रतिशत रहँदा टेलिकमको ४.२९ प्रतिशत र स्मार्टको ५.४८ प्रतिशत देखिएको छ।
प्राधिकरणले कल ब्लक रेटको थ्रेसहोल्ड दुई प्रतिशत वा सोभन्दा कम हुनुपर्ने तय गरेको छ।
कल काटिने दर (कल ड्रप रेट) मा भने तीनवटै अपरेटर हरू सफल भएका छन्।
दुई प्रतिशत वा त्योभन्दा कम हुनुपर्ने मापदण्ड प्राधिकरणले तोकेको छ। जसअनुसार तीनवटै अपरेटर हरूको फोनकल काटिने दर शून्य प्रतिशत रहेको परीक्षणले देखाएको छ।
त्यसैगरी, डेटाको हकमा पिङ ३२ बाइट्स राउन्ड ट्रिप टाइममा पनि तीनवटै अपरेटर सफल देखिएका छन्।
टेलिकमको ९०.८ एमएस, स्मार्टको १७२.९३ एमएस र एनसेलको १९२.८९ एमएस देखिएको परीक्षणले देखाएको छ। प्राधिकरणले यसको थ्रेसहोल्ड २५० एमएस कायम गरेको छ।