
नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको टोलटोलमा सालिक बनाउने दिन आउने बताएका छन् । १९औं दोरम्बा हत्याकाण्ड स्मृति दिवसमा रामेछापको दोरम्बामा आयोजित कार्यक्रममा पुनले राजनीतिक परिवर्तन र सामाजिक जागरणका नायकका रुपमा प्रचण्डको शालिकमा पूजा गर्ने दिन आउने दाबी गरे ।
प्रचण्ड नेतृत्वमा भएको माओवादी जनयुद्धले दलित, महिला, मधेसी र जनजाति समुदायमाथि वर्षौंदेखिको थिचोमिचो र अत्याचार अन्त्य भएको पुनले बताए । गणतन्त्र नेपालका पहिलो राष्टपति डा रामवरण यादव र वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डसँगको भेटमा पटकपटक आफूहरु राष्ट्रपति हुनुमा माओवादीको योगदान रहेको भन्दै धन्यवाद दिने गरेको उल्लेख गरे । पूर्वराष्ट्रपति यादवले तराईमा भैंसी चराउने मानिसलाई माओवादी जनयुद्धले उच्च पदमा पुर्याएको बताउने गरेको उनले सुनाए ।
०५१ सालको संसदमा ७ जना र ०५६ को संसदमा १२ जना मात्र महिला सांसद रहेको चर्चा गर्दै उनले समावेशी समानुपातिक प्रतिनिधित्वको माओवादी एजेण्डाका कारण हाल हाल संसदमा कम्तिमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित भएको बताए ।
पुनले दोरम्बा घटना मानवताविरुद्धको अपराध भएकाले संक्रमणकालीन कानून बनाउँदा त्यस्ता घटनाका दोषीले उन्मुक्ति पाउन नहुने उल्लेख गरे । सरकार–माओवादी शान्तिवार्ता भइरहेका बेला आफ्ना निहत्था कार्यकर्ताको सामूहिक हत्या भएको भन्दै उनले दोषीमाथि कारबाही र परिवारको सम्मान हुनुपर्नेमा जोड दिए ।