आजबाट ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोलाको उत्पादन, आयात, बिक्रीवितरण र प्रयोगमा रोक लागेको छ ।
वन तथा वातावरण मन्त्रालय र वन विभागले ४० माइक्रोनभन्दा पातलो प्लास्टिक प्रतिबन्ध गर्ने नियमलाई आजबाट कडाइका साथ लागु गर्ने भएको हो ।
यसअघि २०७२ सालको वैशाख १ गतेदेखि लागु हुनेगरी उक्त नियम बनाएको थियो ।
तर, त्यही महिना जनधनको ठूलो क्षति पुर्याउने गरी गएको भूकम्पको कारण कार्यान्वयन हुन सकेको थिएन ।
मन्त्रालयले पहिलो चरणमा झोला उत्पादन गर्ने कम्पनी अनुगमन गर्ने छ ।
त्यसपछि धेरै प्रयोग हुने क्षेत्रहरूमा सघन अनुगमन गर्ने र अनुगमनको क्रममा ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोला बिक्री र प्रयोग गरेको भेटिए प्रहरी परिचालन गरी तत्काल कारबाही गर्ने जनाएको छ ।