
काठमाडौं, १५ साउन — भारतका राष्ट्रिय सुरक्षा सललाहकार अजित डोभलले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग डोक्लाम विवादका विषयमा गरेको वार्ता कुनै निष्कर्षमा नपुगी टुंगिएको छ ।

तर विश्लेषकहरूका अनुसार हालैका दिनमा विवाद चिसिँदै गएकाले दुवै देशका शीर्ष नेतालाई समाधानको प्रयास खोज्न समय प्राप्त भएको छ ।
डोभलले शुक्रवार चिनियाँ राष्ट्रपति सी चिनफिङलाई ब्रिक्स मुलुकहरूका राष्ट्रिय सुरक्षा सल्लाहकारहरूको सम्मेलनमा भेटेका थिए ।
भारतीय सेना विवादित डोक्लाम क्षेत्रबाट नहटेसम्म कुनै पनि अर्थपूर्ण संवाद हुन नसक्ने भनी चिनियाँहरूले बताउँदै आएका छन् । तर अहिले यसमा हल्का मात्र सुधार आएको छ ।
साउन १७ गते चीनको जनमुक्ति सेनाको ९०औं वार्षिकोत्सव मनाउने कार्यक्रम छ र उक्त अवसरमा राष्ट्रपति सीले भारतलाई सेना हटाउन लगाउने माग राख्ने सम्भावना न्यून छ ।
‘उच्च स्तरीय तिक्ततालाई घट्न दिएर नेताहरूले समाधान खोज्ने समय दिइने सम्भवाना छ,’ नाम नबताउने शर्तमा एक चिनियाँ विश्लेषकले भने, ‘तर दुवैतर्फ युद्ध गर्नुपर्ने आवाजहरू चर्का भएकाले यसो गर्नु सजिलो चाहिँ छैन ।’
टाइम्स अफ इन्डियाबाट