
चितवनको भरतपुर उपमहानगरपनलिकामा आइतवार भूमिहीन सुकुम्बासीहरूलाई आइतवार जग्गाधनी प्रमाणपूर्जा वितरण गरिएको छ । राष्ट्रिय भूमि आयोग, चितवन जिल्ला समितिमार्फत भरतपुर उपमहानगरपालिका वडा नं. २ का १२३ भूमिहीन सुकुम्वासी घरपरिवारलाई भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले जग्गाधनी प्रमाणपूर्जा वितरण गरिन् ।
भूमिहीन सुकुम्बासीहरूलाई जग्गाधनी प्रमाणपूर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले दुई वर्षभित्र भूमिसम्बन्धी सम्पूर्ण समस्या समाधान गरिसक्ने भनेर सरकारले गरेको प्रतिबद्धताअनुरुप भूमिहीन दलित, भूमिहीन सुकुम्वासीहरूलाई लालपूर्जा वितरणको काम गरिरहेको बताए ।
मन्त्री श्रेष्ठले यही वर्षभित्र ३०० पालिकाका पाँच लाख भूमिहीनलाई लालपूर्जा वितरण गरिसक्ने बताइन् । उनले दुई वर्षभित्र भूमिसम्बन्धी सम्पूर्ण समस्या समाधान गर्न मन्त्रालयले सबै खालका प्राविधिक समस्या, कानूनी र कार्यविधिगत जटिलता हटाउँदै नतिजा दिनेगरी काम गरिरहेको पनि जानकारी दिइन् ।
मन्त्री श्रेष्ठले आफूले मन्त्रालय सम्हालेपछि हालसम्म २०२१ सालयता नापी भएर पनि लालपूर्जा प्राप्त नगरेका ४९ हजारभन्दा बढी घरपरिवारलाई लालपूर्जा वितरण गरिसकेको जानकारी दिइन् । उनले यही वर्षभित्र सबै गाउँब्लकको पुनः नापी र विशेष नापीको काम सकेर लालपूर्जा वितरण गर्ने काम सम्पन्न गरिसक्ने बताइन् ।
उनले यसअघिका आयोगहरूले भूमिहिनलाई लालपूर्जा वितरण गर्न धेरै काम गरिसकेको भने पनि काम केही पनि काम नभएको र धेरैपटक स्थानीय तहसँग तथ्यांक माग्दा प्राप्त गर्न नसकेको भन्दै अहिलेको सरकारले सम्पूर्ण काम प्रक्रियगत र नीतिगत रूपमा पूरा गरी भूमिहीनको समस्या दिगो रूपमा नै समाधान हुने गरी लालपूर्जा वितरण गरिएको बताइन् । उनले यसअघिका आयोगले दिएका लालपूर्जा जस्तो यो लालपूर्जा फिर्ता नहुनेमा ढुक्क हुन सबैलाई आग्रह गरिन् ।